‘जीवनको कहालीलाग्दो क्षण, अहिले पनि सम्झिँदा आङ सिरिङ्ग हुन्छ’

0
126

–लक्ष्मण तामाङ (कतार)
मानिसको जिन्दगीको मोड कहाँनिर के हुने हो ? कस्तो अवस्थामा आई पुग्ने हो ? थाहा नै नहुने रहेछ । रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि म कतारमा छु । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाले सबैलाई त्राहीत्राही बनाइरहेको अवस्था छ । झण्डै डेढ महिनाको अघिको कुरा हो म पनि यो कोरोनाबाट अछुतो रहन सकिन ।
३०, जुलाई २०२० को जुनबेला मलाई कोरोना पोजेटिभ देखियो । मसँगै कम्पनीमा कार्यरत एकजना साथी हामी दुबै एकै कोठामा बस्थ्यौँ । साथीको स्वाब परीक्षणमा पोजेटिभ देखेपछि मलाई पनि क्लोज कन्ट्याक्ट्को हिसाबले क्वारेन्टाइनमा राखियो । अनि मेरो पनि तुरुन्तै तेस्रो दिनमा स्वाब टेष्ट गरियो । चौंथो दिन निकै डर त्रास अनि भयका साथ रिजल्ट पर्खि रहेको थिएँ । तर मेरो नेगेटिभ रिजल्ट आयो म निकै खुशी भएँ, अब चाहिँ बाँचियो भनेर भित्रभित्रै मनमा नयाँ उमंग जोश जाँगर भरेर पनि आयो । यहाँको नियम कानुनलाई पालना गर्दै मेरो रिजल्ट राम्रो भए पनि १४ दिने क्वारेन्टाइनमा चाहिँ बस्नु नै पर्ने भयो र बसियो पनि । जब १४ दिने क्वारेन्टाइनमा म १६ दिनसम्म नै बसेर क्वारेन्टाइन अवधि सकाएर आफ्नो कोठामा पुग्दाको क्षण म ज्यादै खुशी थिएँ । खुशीको सिमाना नै थिएन ।
अहिलेको माहोलमा कोठामा जम्मा दुई जना । अनि साथीलाई कोभिड–१९ को स्वाब टेस्टको रिजल्ट पोजिटिभ आउनु अनि मेरो नेगेटिभ आउनु भनेको मेरो लागि चानचुने कुरा थिएन एक किसिमको भाग्य नै हो भन्ने लाग्यो ।
तर परिस्थितिले अर्कै मोड लियो । लामो समयको अन्तरालपछि क्वारेन्टाइनको अवधि सक्नासाथ म दुई, तीन दिन ड्युटि पनि गएको थिएँ । तर एक्कासी मलाई लगातार लामो सुख्खा खोकी सुरु भयो । जिउ गल्दै भारी भएको जस्तो फिल हुँदै गयो । भित्रभित्रै ज्वरो आएको जस्तो फिल हुँदै गयो । मैले आफैले आफैंलाई सम्हाल्ने कोशिश गरेँ । तर सम्हाल्न गाह्रो भैराखेको थियो । मैले साथीहरूलाई मेरो छेउमा नआउन अनुरोध गरे । म बोल्यो कि खोकी सुरु भैहाल्ने । मलाई भित्रभित्रै शंका लाग्न थाल्यो कि पक्कै पनि कोरोना भन्ने अलच्छिने भाइरस त लागेन । लक्षण हेर्दा त हो कि भन्ने पनि भयो । किनकि म न चिया पिंउथेँ, न त चुरोट । एक्कासी लहरे खोकी कताबाट लागेको होला भनेर सोच्न थालेँ । म कोठामा दुई दिनसम्म एक्लै सेल्फ क्वारेन्टाइन पनि बसेँ । मैले सकेसम्म अरुलाई पनि नसरोस र मेरो पनि समयमा नै उपचार गराउनु पर्छ भन्ने सोंचे ।
जुलाई ३० तारिखको दिन बेलुकी खाना खाएपछि मलाई खोकीले झन्झन् चाप्दै लग्यो । अब म रुममा बसेर काम छैन चेकअप चाहिँ गर्नुपर्छ भन्ने भयो । मैले कत्ति पनि ढिलो नगरी फोन गरेर तुरुन्त गाडीको बन्दोबस्त मिलाई दिनको लागि आफ्नै कम्पनीकै भाइलाई अनुरोध गरे । र म लगायत अरु एक जना भाइ पनि बडी पैनको समस्या लिएर अल्खोर हस्पिटल हुइकियौं ।
मेरो नाजुक अवस्था देख्ने बित्तिकै डाक्टर र नर्सहरुले पनि कोरोनाको शंका गरिसकेको रहेछ । डाक्टरको कर्तव्य भनेकै बिरामीलाई पहिला बचाउनु तर्फ लाग्नु पर्छ भन्ने महान बिचारका साथ मेरो क्रीटिकल सिचुयसन देख्ने बित्तिकै कत्ति पनि ढिला नगरिकन चाँडोभन्दा चाडैं मेरो उपचार शुरु गरिहाले । तुरुन्तै मलाई पक्रेर मेरो वीपी, बडि टेम्परेचर, इसिजी, चेस्ट एक्सरे अनि स्वाब टेस्ट यति चाँडो गरायो कि म त हेरेको हेरै बनाईदियो । यति छिटो स्वास्थ्योपचार मैले जीवनमा देखेको थिइँन । स्वास्थ्यको मामलामा कतार देश धेरै अघि भएको मैले महसुस गरेँ । अनि स्लाइन पानी बडिमा चढाउन शुरु गरिहाल्यो । त्यो बेलासम्म खोक्दा खोक्दै म लगभग अर्धचेत अवस्थामा पुगीसकेको रहेछु । मेरो अवस्था झन्झन् क्रीटिकल हँुदै गएपछि त्यहाँबाट पनि मलाई रेफर गरेर अरु सुविधा सम्पन्न हस्पिटल पठाइहालेछ । कतारको दुखानस्थित क्युबान हस्पिटल, अनि त्यहाँ पुग्ने बित्तिकै स्थिति झन् नाजुक भएपछि आइसियुमा लगेर भेन्टिलेटरमा पु¥याइ हालेछ । त्यो अवस्थासम्म म निस्सासिरहेको अलिअलि थाहा पाएको थिएँ । त्यसपछिको अवस्था चाहिँ म दस दिनपछि होसमा आएपछि मात्र थाहा भयो कि म त बाँचेछु भन्ने ।
अन्तमा उपचार सफल भएपछि बल्ल आईसियुबाट निस्किएर तीन दिनसम्म नर्मल वार्डमा राखियो । तीन दिनपछि बल्ल कम्पनीको क्वारेन्टाइनमा बसें । कम्पनीको क्वारेन्टाइनमा १९ दिनको बसाइपछि बल्ल काममा फर्किन सफल भएको छु ।
आईसियुमा बिताएको त्यो क्षण संझिदा अझ पनि आङ सिरिङ्ग हुन्छ । मैले पाएको यो अहिलेको जीवन मेरो दोस्रो जीवन हो भन्दा पनि कत्ति पनि फरक पर्दैन । कतारमा रहेका जति पनि हस्पिटलहरु छ्न् र जुन ढंगले उपचार गराइरखेका छन् । त्यो पक्का पनि इन्टरनेशनल स्ट्यान्डर्डको छ । अस्पतालको व्यवस्थापन र उपचार पद्धतिलाई मैले ह्युज स्यालुट ठोक्नै पर्ने हुन्छ । साच्चै नै डाक्टर तथा नर्सहरुलाई दोस्रो भगवानको रुपमा नै मैले पाएँ । मेरो सफल उपचारपछि त मैले डाक्टर नर्सहरुलाई गर्ने माया, इज्जत र सम्मान झन पहिलाको भन्दा तेब्बर भएको छ । म बिरामी हुँदा मेरो शिघ्र स्वास्थ्यलाभको कामना अनि पुजा गर्नु हुने मेरो घर परिवार, आफन्तहरु, साथीभाइहरु, दिदीबहिनीहरु सम्पूर्णलाई एकमुष्ट रुपमा हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।
बिरामी अवस्थामा विदेशी भूमिमा त्यहीमाथि ब्यस्तताका बाबजुत पनि जुन साथीहरु, आफन्तहरुले गर्नु भएको सहयोग सम्झदा खुशीको आँशु अहिले पनि झर्ने गर्दछ । त्यही आफन्त र साथीहरुको गुण सायद जीवनको अन्तिम क्षणसम्म भुल्ने छैन । म ऋणि भएको छु किनकि तपाईंहरुले लगाउनु भएको गुण मैले सयौं जुनीमा पनि तिर्न सक्दिन । र गर्व पनि लाग्छ कि कतार आएर धेरथोर पैसा मात्र हैन मैले मन मिल्ने, भैपरि आउँदा जस्तोसुकै घडीमा सहयोग गर्नु हुने साथीहरु पनि कमाएको रहेछु । कुन कुन साथीहरु आफन्तहरुले के कति सहयोग गरे गरेन त्यस्को राम्रो हिसाब किताब मेरो दिमाग र मनमा राखेको छु । र सबैजनाको पैंचो तिर्ने तर्खरमा छु ।
मेरो अनुभवमा चाहिँ यो भाइरस नर्मल हुँदै होइन यो एक किसिमको ज्यानमारा भाइरस नै हो । त्यसैले यो भाइरसबाट जोगिनको लागि तपाईंहरु सबैजनालाई सजकता अपनाउनु हुन मेरो विनम्र अनुरोध छ । जो नर्मल भन्ने गर्छन् सजिलै निको भयो भन्छ्न् उनीहरुलाई सायद नर्मल खालको भाइरस नै संक्रमित भएको थियो होला भन्ने मेरो अनुमान हो । तर मलाई चाहिँ खतरनाक किसिमको भाइरस संक्रमण भएको रहेछ भन्ने पुस्टि भएको छ ।
र अन्तमा सबै सुरक्षित रहनुहोस्, सुरक्षाको मापदण्ड अपनाउनुहोस् । अहिलेको यो महामारीमा सबै सजग हुनुहोस् । धन्यवाद ।