‘सबैको कामना, हौसला तथा उच्च मनोबलले कोरोना जित्न सफल भएँ’

0
94
हेटौंडा–१५ भोर्लेका कुमार रुम्बा (बायाँबाट तेस्रो रातो सिसर्ट) ।

हेटौंडा / भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका कुमार रुम्बा अहिले कोरोनामुक्त भएका छन् । उहाँ हेटौंडा–१५ भोर्लेका वासिन्दा हुन् । उहाँको भदौ १८ गते रिपोर्ट नेगेटिभ आएपछि प्रशासनबाट शिल गरिएको उनको घर बुधबारदेखि थप स्वास्थ्य लाभको कामना गर्दै हटाइएको हो । कोरोनामुक्त भएका धेरै मानिसहरुको अभिव्यक्तिहरु आ–आफ्नै किसिमका पाइएका छन् । कसैले सामान्य रुघाखोकी, ज्वरो हो निको भइहाल्छ भन्ने पनि भेटिएका छन् ।
केही दिन अघि मात्र रोजगारीको सिलसिलामा कतारमा रहेका लक्ष्मण तामाङले ‘जीवनको कहालीलाग्दो क्षण, अहिले पनि सम्झिँदा आङ सिरिङ्ग हुन्छ’ शिर्षकको आफ्नो बिचार नै व्यक्त गरेका थिए यसै ‘न्यूजप्रवाह डटकम’बाट । तर जे भए पनि हामीले सबै किसिमका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउनु हालको स्थितिमा बुद्धिमानी ठहर्छ । यो महामारीमा सबैलाई जनचेतना फैलाउनु, सबै सजग हुनुको अहिलेको माग हो ।
हेटौंडा–१५ भोर्लेका रुम्बा कोरोनामुक्त भई सफलता पाउनु भएकोमा धेरै खुशी भएका छन् र उहाँले आफ्नै भाषा शैलीमा गरिएको खुशी, अभिव्यक्ति, आभार, धन्यवाद लगायत हुबहु प्रस्तुत गरिएको छ ः
रुम्बा भन्नुहुन्छ ः वास्तवमा यो कोरोना भाईरस (कोभिड–१९) लाग्ने बित्तिकै मान्छेको ज्यान गैहाल्ने होइन यसले दीर्घ रोगी, कमजोर स्वास्थ्य, रोग प्रतिरोधात्मक शक्ति कम भएको व्यक्तिलाई छिटो असर गर्ने र पूर्ववत् रोगकै कारणबाट ज्यान गएको मेरो बुझाई रहेको छ । सामान्य अवस्थाको व्यक्तिलाई यो रोग लागेमा नियमित शारीरिक व्यायम र सन्तुलित भोजन तथा जडीबुटीहरुको सन्तुलित मात्राको सेवनले हामी कोरोना मुक्त हुन सक्छौं । हामी यस सँगसगै स्वास्थ्य सावधानी समेत अपनाउनु जरुरी छ ।
समुदाय स्तरमा यो कोरोना भाइरस फैलिएसँगै समुदायका मानिसहरू त्रसित हुने र कोरोना सङक्रमितलाई हेलाको दृष्टिले हेर्ने र अमानवीय व्यवहारहरू गर्ने गरेको पाइएको छ । यसो नगर्न म सम्पूर्णलाई विनम्र अनुरोध गर्छु, किनभने यो कोरोना भनेको कुनै जघन्य अपराध होइन यो सामान्य रोग हो ।
यसले विश्वव्यापी महामारीको रुप लिएको र यसको कुनै किसिमको औषधि एवम् भ्याक्सिन पत्ता नलागिसकेको र यो रोगको भाइरसको प्रकृति पनि बुझिनसकेको कारण आम समुदाय भयभीत हुनु स्वाभाविकै हो तर स्वास्थ्य साबधानी पालना गर्दै खानपिनमा ध्यान दिन सक्यौं भने यो रोग लाग्नबाट बच्न सकिन्छ । हामी सबै मिलेर कोरोना विरुद्धको लडाइँमा लाग्नुपर्छ समुदायमा सौहाद्र्ध वातावरण सिर्जना गराउने र सामाजिक दुरीलाई घटाएर भौतिक दूरी कायम गर्नु पर्दछ ।
साथै नेपाल सरकार, प्रदेश सरकार एवम् स्थानिय सरकार मिलेर पीसीआर परीक्षणको क्षमता बढाउन, रिपोर्ट स्वाव सङ्कलन गरेको २४ घण्टामै नतिजा निकाल्ने व्यवस्था, हाल रहेको क्वारेन्टाइन र आइसोलेशनलाई अझ व्यवस्थित गर्न र रिपोर्ट प्राप्त भएपछि सम्बन्धित व्यक्ति स्वयम्लाई नेगेटिभ र पोजिटिभको जानकारी गराउने व्यवस्था मिलाउन समेत हार्दिक अनुरोध गर्न चाहन्छु ।
मलाई सुरूवातदेखि नै प्रत्यक्ष भेटघाट, फोन, म्यासेन्जर एवम् फेसबुकमार्फत् सबैले कामना, हौसला तथा उच्च मनोबल बढाउन सहयोग गर्नुहुने र मलाई प्रत्यक्ष हेरचाह गर्नुहुने सम्पूर्ण आदरणीय, व्यक्तित्वहरू, जनप्रतिनीधिहरु, स्वास्थ्यकर्मीज्यूहरु, सुरक्षाकर्मीहरु, साथीभाई, आफन्त परिवार एवम् छिमेकी दाजुभाई तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक नमन्, सम्मान प्रकट गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्दछु ।