‘राज्यले दिइसकेको बिदा खोस्नु अन्याय’

0
302

भरतपुर । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले लोसार पर्व मनाउने भएको छ । मंगलबार पत्रकार भेटघाटमा ल्होसार पर्व मनाउने तयारी तिब्र गतिमा भइरहेको तमू ल्होसार पर्व मूल समारोह समितिका संयोजक गणेशबहादुर गुरुङले जानकारी दिएको हो । मृग वर्गलाई विदाई गर्दै मुसा वर्गको स्वागत गर्दै मनाउन लागिएको उनको भनाइ थियो ।
पत्रकार भेटघाटमा बोल्दै गुरुङले राष्ट्र निर्माणको लागि कुनै पनि विदा नदिए हामी तयार छौं तर सार्वजनिक रुपमा दिइसकेको ल्होसार पर्वको विदालाई खोस्नु अन्याय भएको बताए । राज्यले कटौती गरेको ल्होसार पर्वको विदामा सम्पूर्ण गुरुङ समुदायको असन्तुष्टि रहेको उनले भने । विगत दुई वर्षदेखि ल्होसार पर्वको विदा नपाएको र यसका लागि जनप्रतिनिधि र राजनीतिक दलसँग घनिभूत छलफल गर्ने तयारी भइरहेको उनले बताए ।
ल्होसार पर्वलाई भव्यरुपमा मनाउन छोँज धीँ चितवनका अध्यक्ष गणेशबहादुर गुरूङको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति र २६ वटा उपसमिति बनाएर तयारी थालिएको जानकारी गराइएको हो । गुरूङ जातिको प्रत्येक घरधुरीबाट रकम संकलन गरेर मनाउँदै आइरहेको छ । यसवर्ष पनि त्यसरी नै रकम संकलन गरेर खर्च व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए । विशेषगरी, पुस १४ गते साँझ नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनको नेतृत्वमा सांस्कृतिक कार्यक्रम आयोजना गरेपछि ल्होसार पर्वको भव्य रौनक सुरू हुन्छ । राति १२ बजेसम्म सांस्कृतिक कार्यक्रम गरेर त्यसपछि नयाँ वर्षलाई स्वागत गर्ने चलन छ ।
राति १२ बजेपछि दियो बाली हर्षोल्लासका साथ शुभकामना आदानप्रदान गरेर पर्व मनाउने चलन छ । त्यसपछि १५ गते दिनभर औपचारिक कार्यक्रम गरेर नयाँ वर्ष मनाउने चलन रहिआएको पाइन्छ । सोही अवसर पारेर ह्युल छोँज धीँले गुरूङ समुदायबाट सफलता हासिल गरेका व्यक्तिहरुलाई विगत केही वर्षदेखि सम्मान गर्दै आइरहेको छ । यसवर्ष पनि त्यस्ता व्यक्तिको खोजी भइरहेको अध्यक्ष गुरूङले जानकारी दिए । उनका अनुसार यसवर्ष चाटर्ड एकाउन्टेन्ट (सीए), स्वास्थ्य क्षेत्रमा एमडी, एमएस्सी, नर्सिङ अथवा विद्यावारिधि गरेका र यसैवर्ष नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका विजेतालाई हौसलास्वरुप सम्मान गर्ने कार्यक्रम छ ।
ह्युल छोँज धीँले हरेक वर्ष फरक–फरक क्षेत्रमा सफलता हात पारेका व्यक्तिलाई सम्मान गर्दै आइरहेको छ । साथै, विद्यार्थीका लागि प्रत्येक वर्ष वितरण गर्दै आइरहेको रोहित घले स्मृति प्रतिष्ठान र नीलम गुरूङ स्मृति अक्षयकोषद्वारा प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको उनले बताए । जयबुद्ध अस्पताल प्रालिसँगको सहकार्यमा खुला रक्तदान कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ । गत वर्षदेखि भने सरकारले ल्होसार पर्वमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको भन्दै त्यसका विरूद्ध विभिन्न खालका दबाबमूलक कार्यक्रम गर्दै आइरहेको छ ।