राप्ती सिपिएल च्याम्पिएन

0
133

नारायणगढ । क्याम्पाचौरमा सम्पन्न प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को राप्ती ¥यापिड्स च्याम्पियन बनेको छ । लिगको फाइनल खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो ।
लिगमा सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाउदै पूरा गरेका थिए । राप्तीको जितमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेलेका थिए । थापाले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गरे भने उक्त साझेदारीले नै राप्तीलाई जित तर्फ डो¥यायो । आक्रमक ब्याटिङ गरेका थापाले ५७ बलमा ७४ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि ओपनर साकार ढकाल २७ बलमा ३२ रन बनाएर पेभिलियन फर्किएका थिए । हरिबहादुर चौहान १८ तथा भिम सार्की ११ रनमा नट आउट रहे । आक्रमक ब्याटिङ गरेका सार्कीले १७ औं ओभरको तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै उत्कृष्ट फिनिस गरेका थिए । सौराहाका कुनै पनि बलर राप्तीका ब्याट्सम्यान माथि हावी हुन सकेनन् । सौराहाका आकाश चन्द र सुवर्ण थापाले समान ४–४ ओभर बलिङ गर्दै समान १–१ विकेट लिएका थिए ।
टस जितेर पहिलो ब्याटिङ गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउदै १३९ रन बनाएको थियो । खेलमा सौराहाले पनि राम्रो सुरुवात गरेपनि जित हासिल गर्न सकेन । ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । रित १७ बलमा ४ चौका प्रहार गर्दै १९ रन बनाएर आउट भए । राजेशले ४८ बलमा ७ चौका प्रहार गर्दै ५१ रन बनाए ।
यस्तै प्रशान्त महत ३४ बलमा ३६ तथा आकाश चन्द ८ बलमा ७ रनमा नट आउट रहे । राप्तीका कमल थापाले २ विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चिए । खेलको चितवन टाइगर्स म्यान अफदी म्याच राप्तीका कप्तान आकाश थापा घोषित भए । उनले २ हजार प्राप्त गरे ।
बिजेता बनेको राप्तीले २ लाखसहित ट्रफी र मेडल पाएको छ भने उपबिजेता बनेको सौराहाले एक लाखमा चित्त बुझाएको छ । उता राप्तीका हरिबहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भए । उनले १० हजारसहित ट्रफी प्राप्त गरे ।
उनले सिपिएलमा १३१ बलमा १५३ रन बनाएका थिए भने १९ ओभरमा एक मेडन राख्दै ९० रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएका थिए ।
यस्तै राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगिताभर १३ ओभर ५ बल बलिङ गर्दै ७६ रन खर्चिएर ९ विकेट लिए । प्रतियोगिता भर ७३ बलमा १३१ रन बनाएका राप्तीका भिम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।
यस्तै राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित भए । उनले प्रतियोगिताभर ९४ बलमा १२२ रन बनाउनुका साथै १९ ओभरमा महत्वपूर्ण ८ विकेट समेत लिए । उनिहरुले जनही ४–४ हजारसहित ट्रफी प्राप्त गरे ।
उनीहरुलाई समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद विजय सुवेदी र अतिथि राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सक मार्की प्लेयर सोमपाल कामीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ३ जना खेलाडीहरु नेपालकै सबैभन्दा ठूलो व्यवसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् । प्रतियोगिताका उत्कृष्ट अलराउण्डर राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनौट भएका हुन् । यस्तै भरतपुर गुर्खाजका कत्पान संघर्ष पौडेल बैकल्पिकमा परेका छन् ।
यसैबीच आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्कालाई चितवनको क्रिकेट क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । उनलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।
समापन समारोहमा बोल्दै नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सकोका प्रवन्ध निर्देशक राजु चौधरीले सिपिएलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको बताए । आगामी संस्करणलाई अझ व्यवस्थित र परिस्कृत गर्दै लैजाने उनको भनाइ थियो ।
माघ १७ गतेबाट शुरु भएको प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती ¥यापिड्स, इच्छाकामना वारीयर्स र माडी टाइगर्स सहभागी थिए । नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सिपिएलको सहआयोजकमा चितवन क्रिकेट संघ रहेको थियो ।