पत्रकार पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह सार्वजनिक

0
267

गैंडाकोट । चितवनका क्रियाशील पत्रकार बसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ सोमबार विमोचन भएको छ । उक्त कथासङ्ग्रह अक्षर समूह चितवनको आयोजनामा विमोचन गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए भने कथासङ्ग्रह पुस्तक लेखककी माता गोमा पराजुलीले सार्वजनिक गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि रोदनले दौड दौडेर, अखबारहरुमा अन्तर्वार्ता छापेर, पदक र पुरस्कार सम्मानको दोसल्ला ओढेर ठूलो लेखक बन्ने भ्रम नपाल्न आग्रह गरे । असल साहित्य, समाजको लागि कलम चलाउने, इमान्दार र जीवनभर सिर्जनालाई साधना गर्ने व्यक्ति असल साहित्यकार हुने उनले बताए ।
दुई दशक लामो पत्रकारिता क्षेत्रमा भए गरेका सत्य तथ्य विषय वस्तुलाई कथासङ्ग्रहमार्फत पाठक सामू उजागर गर्न खोजिएको पराजुलीले बताए । उक्त कथासङ्ग्रहले थोरै भए पनि समाज रुपान्तरणको लागि सहयोग पुग्ने उनको भनाइ थियो । पराजुली सिनर्जी एफएम, चितवनपोष्ट दैनिक, विभिन्न पत्रपत्रिकालगायत हाल गोरखापत्र दैनिकमा सम्वाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।
‘कुमाता’ कथासङ्ग्रहमा १० वटा कथा समावेश गरिएको छ भने भूँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याएको हो । दुई दशक लामो पत्रकारिता क्षेत्रमा कार्यरत पराजुलीको यो पहिलो साहित्यिक कृति हो ।
कार्यक्रममा डा. एकनारायण पौडेल, भुँडी पुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, एलबी क्षेत्रीलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम समूहका अध्यक्ष प्रभाकर पण्डितको सभापतित्व सम्पन्न भएको थियो भने सचिव लेखराम सापकोटाले संचालन गरेका थिए ।