देशको समृद्धि र सुशासनका लागि सबै एक हुनुपर्ने – प्रजिअ

0
344

भरतपुर । नेपाल प्रेस युनियन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा अन्तक्र्रिया कार्यक्रम गरेको छ । युनियनले रजत वर्षको अवसर पारेर सरकारी सूचना सम्प्रेषण सम्बन्धी संचारकर्मी–सूचना अधिकारी बीच अन्तक्र्रिया गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले देशको समृद्धि, सुशासन तथा सबै नागरिकले यो देश हाम्रो हो भनेर काम गर्नुपर्ने बताए । अघोषित मिडियाहरुले जनमानसमा भ्रम सिर्जना गरेकाले पत्रकार र सरकारी निकाय मिलेर कारवाही गर्नुपर्ने उनको भनाइ थियो । सूचना हक सम्बन्धी ऐनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, जातजाति सम्प्रदाय, अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पार्ने सूचना दिन नमिल्ने उनले जोड दिए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सूचनाका हक भनेको पत्रकारका लागि मात्र नभएर आम नेपालीको भएको बताए । पत्रकारको कुनै पनि श्रेणी हुँदैन, जसले समाचार लेख्ने काम गर्छ त्यो पत्रकार भएको अध्यक्ष खतिवडाको जोड थियो ।
उक्त कार्यक्रममा प्रहरी सहायक उपरीक्षक एकनारायण कोइरालाले सूचना सहजीकरण, छिटो होस, सत्यतथ्य जाओस भन्ने कार्य गरेको बताए । प्रहरी संवेदनशील, सुरक्षा तथा प्रत्येक नागरिकसँग जोडिएर काम गर्ने निकाय भएको कोइरालाको भनाइ थियो ।
कार्यक्रममा प्रेस संगठन नेपालका शालिग्राम नेपाल, नेपाल प्रेस युनियन चितवनका पूर्व अध्यक्ष वसन्त पराजुली, पत्रकार तुलमान गुरुङ, वसन्त सापकोटा, रमेशकुमार पौडेल तथा विभिन्न निकायका सूचना अधिकारीहरुले बोलेका थिए । कार्यक्रम युनियनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।