January 21, 2025
- ADVERTISEMENT -

लकडाउनको सरकारले व्यवसाय सञ्चालन कार्यविधि बनाउन नसकेको आरोप

June 4, 2020

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन साढे २ महिनासम्म पनि व्यवसाय सञ्चालन कार्यविधि बनाउन नसक्दा व्यवसायीदेखि सर्वसाधारणसम्म आक्रोशित हुन थालेका छन् । ०७६ चैत ११ देखि लकडाउन गरेर सरकार चुपचाप बसेको उनीहरुले आरोप लगाएका हुन् ।
देशका विभिन्न ठाउँमा व्यवसायीहरुले लकडाउन उल्लंघन गर्दै धेरै ठाउँमा बुधबारबाट खोल्न थालेका छन् । बिहीबार काठमाडौंका अधिकांश ठाउँमा पसलहरु खुलेका छन् ।
घरबेटीले भाडा माग्ने र सरकारले कर तिर्न उर्दी जारी गरेको भन्दै व्यवसायी आक्रोशित बनिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भएकोले पसल खोलेको बताए ।
‘लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भए, अब पसल खोल्नुको विकल्प रहेन’, उपाध्यक्ष प्रधानले भने, ‘सरकारलाई कर उठाउन हतार भयो कर तिर्नको लागि पनि व्यवसाय सञ्चालन त गर्नु नै पर्यो ।’
उनले व्यवसायीहरुले साढे दुई महिनादेखि सरकारको कानुन मानेरै बसेको भन्दै अब त सरकारले विकल्प दिनुपर्ने बताए ।
सरकारले भने लकडाउनपछिको अवस्था कस्तो हुने भन्दै छलफल सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुलाई बोलाएर यसबारे छलफल समेत गरेका थिए ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र, कोरोना रोकथाम उच्चस्तरीय समितिले पनि कार्यविधिको विषयमा अझै छलफल गरिरहेको छ । व्यवसायीहरुले सरकारले साढे दुई महिनासम्म के हेरेर बसेको भन्दै अहिलेसम्म कार्यविधि नबनाएकोमा प्रश्न गरेका छन् ।
‘व्यापार व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले कार्यविधि बनाउँदै छ’, वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले भने, ‘हामीले सचिव वैकुण्ठ अर्याललाई कार्यविधिको सुझाव पनि दिएका छौं । अन्तिम रुप दिई मन्त्रिपरिषदले छिट्टै सार्वजनिक गर्ला ।’
महानिर्देशक सुवेदीले सबै व्यवसाय एकैपटक खोल्नेभन्दा पनि चरणबद्ध रुपमा खोल्ने गरी छलफल भइरहेको बताए ।
यसका अलावा सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा पनि केही निर्णय गर्न सकेको छैन । यातायात व्यवस्था विभागले मस्यौदा तयार गरी छलफल चलाए पनि पास भइसकेको छैन । यातायात सञ्चालन नभए कुनै व्यवसाय पनि चलायमान नहुने व्यवसायीहरुले बताउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -