२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुई बालिका गर्भबाटै कारागार जीवन बिताउन बाध्य

प्रकाशित मिति : २०७८ श्रावण १९ गते
- ADVERTISEMENT -

चितवन / आमाले गरेको गलत कामका कारणा गर्भबाटै कारागार जीवन बिताउन यहाँका दुई बालिका बाध्य भएका छन् । गर्भवती भएपछि कारागार चलान भएका दुई आमाले यहाँ बच्चा जन्माएका हुन् । कारागार कार्यालय चितवनमा अहिले तीन जना आश्रित बालिकाहरु रहेका छन् । एक बालिका आमासँगै आएकी हुन् । लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएकी अनामिका (नाम परिवर्तन) कारागार चलान हुँदा पेटमा दुई महिनाको बच्चा थियो । उनी कारागार गएपछि सात महिनामा छोरीलाई जन्म दिईन् ।
अहिले ती बालिका दुई वर्ष पुग्न लागेकी छिन् । बालिकाले अहिलेसम्म बाबुको काखमा खेल्न पाएकी छैनन् । बालिकाले अहिले घरनै कारागारलाई मान्ने गरेको भन्दै अनामिकाले भनिन् “मैले गरेको नराम्रो कामका कारण मेरो अबोध वच्चा पनि चार दिवारमा थुनिनु परेको छ ।” उनका श्रीमान समय समयमा छोरी र श्रीमतीको अवस्था बुझ्न कारागार आउने भए पनि कोरोना कहरका कारण छोरीलाई लिन पाएका छैनन् । उनले थपिन “भेटघाटमा आउँदा देख्ने गरेको भए पनि बाबु यहि हो भन्ने बारेमा अहिलेसम्म पनि ज्ञान छैन ।”
भर्खर तोते बोल्न लागेकी छोरीले बाबा भनेर बोल्दै गर्दा आफुलाई आत्मग्लानी भएर आउने उनले बताइन् । उनले सम्झिदै भनिन् “घरमा भएको भए छोरी अहिले कति रमाउँथिन् होला ?” कारागारमा रहेको महिला बन्दी गृहमा मायाँको कमी नभए पनि बाबुको मायाँ पाउन नसकेको भन्दै उनले बाहिरबाट कसैले केही पठाई दियो भने ‘बाबाले पठाएको हो ?’ भनेर छोरीले सोध्दा नाजवाफ हुने गरेको बताईन् । दुई महिनाको गर्भसँगै कारागार चलान भएकी कविता (नाम परिवर्तन)ले सात महिनापछि छोरीलाई जन्म दिईन् । उनकी छोरी अहिले भर्खर पाँच महिनाकी भईन् ।
छोरीले अहिलेसम्म बाबुको काख देख्न पाएकी छैनन् । कविता आफूले गरेको कुकर्मको फल छोरीले भोग्नु पर्दा पीडा महसुस गर्छिन् । उनले भनिन् “छोरीले सजायँ भोग्नु पर्दाको पीडाले सधैं मन पोल्छ ।” उनले अगाडि भनिने “मेरो कारणले बच्चा पनि थुनिनु प¥यो ।” आफुले जीवनमा ठूलो भूल गरेको भन्दै उनले भनिन अब यस्ता गलत काममा लाग्ने सोच पनि हटिसक्यो । आफन्त भेट्न आउँदा पनि बच्चाले आफन्तलाई नचिन्नु झनै दर्दानक पिडा हुने उनले गुनासो गरिन । उनले भनिन् “बच्चालाई बाबुको मायाँ र परिवारको स्नेह कस्तो हुन्छ भन्ने थाहानै नहुने भो ।”
उनी लागुऔषध मुद्धामा तीन वर्ष कैदभोग्दै छिन् । यता ठगी मुद्दामा बन्दी जीवन बिताउँदै आएकी भिमकुमारी (नाम परिवर्तन) भने सानो बच्चा सहित कारागार आएकी हुन । बाहिरको संसारमा रमाउँदै आएको बच्चा भित्र आए पछि कस्तो बन्ने हो भन्ने चिन्ताले उनलाई सताई रहेको छ । भिमकुमारीले छोरीको भविश्य सम्झदै भनिन् “छोरीको के दोषी थियो र ? मेरै कमजोरीले उसले सजायँ भोग्नु परेको छ ।” आफूले गल्ती नगरेको भए यो अवस्था नआउने भन्दै उनले भनिन् “नाबालिका छोरीलाई बाबुको काखमा खेल्ने अवसरबाट मैले नै रोकँे ।”
कारागार कार्यालय चितवनका प्रमुख कमल प्रसाद काफ्लेले कारागार भित्र बालबालिकाका लागि आवश्यक सम्पूर्ण सुविधा पर्याप्त नभए पनि मायाँमा भने कमी हुन नपाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो “बालबालिकाले घरमा जस्तो खेल्ने कुरा खेल्न र आफन्तको मायाँ नपाए पनि अन्य कुरामा कुनै समस्या छैन ।” बालबालिकाको हकमा तीनदेखि पाँच वर्षसम्म मात्र यहाँ रहने भन्दै उहाँले तीन वर्ष पुगे पछि घर परिवारको जिम्मा लगाउने, घर परिवार नभए बिभागले तोकेको संस्थामा पठनपाठनका लागि पठाउने गरेको बताउनुभयो ।
कानुन अनुसार बालबालिकाहरु पाँच वर्षसम्म आमाको काखमा बस्न पाउने भएकाले त्यसपछि भने कुनै न कुनै विकल्पको खोजि गरिने उहाँको भनाई छ । अहिले कारागारमा ६ सय ७४ जना कैदी बन्दी रहेका छन् । जस मध्ये ४८ जना महिला रहेका छन् । ती महिलाहरुसँग आश्रित तीन जना बालिका रहेका छन् । यस्तै ६ सय २६ जना पुरुष कैदी, बन्दी रहेका छन् । कारागारमा २५५ जना पुरुष र २५ जना महिलाको क्षमता रहेको काफ्लेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -