काठमाडौं / काठमाडौं प्रहरीले राजधानी काठमाडौंको गौशाला नजिकै रहेको पिंगलास्थानमा दुई वटा मोटरसाइकल चेकजाँच गर्दा झण्डै एक करोड रुपैयाँ नगद फेला पारेको छ । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरीले आइतबार अपरान्ह चेकजाँच गर्दा ९५ लाख १७ हजार पाँच सय रुपैयाँ नगद फेला पारेको हो ।
सदा झै गौशालाबाट तिलंगा जानेतर्फ नजिकै रहेको होटल पशुपति भिजन अगाडिको सडकमा चेकजाँच सञ्लालन गरेको थियो । दुई वटा मोटरसाइकलमा चार जना सवार थिए । एक जना चालक र अर्को पछाडि बसेका थिए । पछाडि बस्नेले ठूला ठूला झोला बोकेका थिए ।
प्रहरीलाई शंका लागेर चेक जाँच गर्दा एक हजार रुपैयाँ दरका ठूलो मात्रामा नोट फेला पारेको थियो । लगत्तै प्रहरीले रकमको स्रोतबारे जिज्ञाशा राख्दा केही बताउन सकेनन् । रकमको स्रोत बताउन नसकेपछि लगत्तै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
अबैध रकमसहित पक्राउ पर्नेहरुमा काठमाडौं, तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन् । अपरान्ह करिब ४ बजेको समयमा प्रहरीले सर्च अप्रेशन चलाएको थियो । सोही क्रममा उनीहरु प्रहरीको ट्रेसिङमा परेका थिए ।
प्रहरीले रकम कहाँबाट ल्याएको हो र कसको हो रु भन्ने तथ्य पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ । यसअघि टोखाबाट २५ करोड रुपैयाँको नोट बरामद भएको थियो ।