पुसको तेस्रो सातामा आइपुग्दा नेपालका धेरै भूभागमा शीतलहरको प्रभाव तीव्र बन्दै गएको छ । विशेषगरी तराई, भित्री मधेस, हिमाली क्षेत्र र उपत्यकाका केही क्षेत्रमा चिसो हावा, कुहिरो र तापक्रमको अत्यधिक गिरावटले जनजीवन कष्टकर बनेको छ । शीतलहर प्राकृतिक प्रक्रिया भए पनि यसको प्रभावले गरिब, असहाय, ज्येष्ठ नागरिक, बालबालिका र बिरामी वर्गलाई गम्भीर जोखिममा पारिरहेको छ । शीतलहरको कहरबाट बच्ने उपाय अपनाउनु नै आजको आवश्यकता हो । शीतलहरका कारण स्वास्थ्यमा प्रत्यक्ष असर पर्छ । चिसोले स्वासप्रश्वाससम्बन्धी रोग, निमोनिया, दम, रुघाखोकी, जोर्नी दुख्ने समस्या तथा मुटुसम्बन्धी जटिलता बढ्ने गर्छ । अत्यधिक चिसोमा लामो समय बस्नुपर्दा रक्तचाप असन्तुलन हुने र शरीरको तापक्रम घटेर ज्यानै जोखिममा पर्ने अवस्थासमेत देखिन्छ । विशेष गरी खुला स्थानमा बसोबास गर्ने, विपन्न परिवार र सीमान्तकृत समुदाय शीतलहरका सबैभन्दा बढी प्रभावित बन्ने गरेका छन् ।
शीतलहरले स्वास्थ्यसँगै शिक्षा, कृषि र आर्थिक गतिविधिमा पनि असर पार्छ । चिसोका कारण कतिपय विद्यालयहरु बन्द भएका छन् । यो समयमा बालबालिका बिरामी पर्ने कारण पठनपाठन अवरुद्ध हुने समस्या देखिएको छ । शीतलहरका कारण कृषकहरूका लागि बालीमा तुसारो लाग्ने, तरकारी र नगदे बाली नष्ट हुने जोखिम बढ्छ । यसले खाद्य सुरक्षामा समेत दीर्घकालीन प्रभाव पार्न सक्छ । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरू चिसोका कारण काममा जान नसक्दा समस्यामा पर्न सक्छन् । शीतलहरबाट बच्न व्यक्तिगत, सामुदायिक र सरकारी तहबाट समन्वित प्रयास आवश्यक छ । व्यक्तिगतरूपमा न्यानो कपडा लगाउने, बिहान–साँझ अत्यधिक चिसोमा बाहिर ननिस्कने, तातो खाना र पेय पदार्थ सेवन गर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिने गर्नुपर्छ । घरभित्र आगो बाल्दा वा हिटर प्रयोग गर्दा सावधानी अपनाउनपर्छ । असावधानीले गर्दा आगलागी र कार्बन मोनोअक्साइड विषाक्तताको खतरा बढाउन सक्ने देखिन्छ ।
- ADVERTISEMENT -

सरकारी तहबाट शीतलहर प्रभावित क्षेत्र पहिचान गरी न्यानो कपडा, कम्बल र अस्थायी आश्रयको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य संस्थालाई सतर्क बनाउँदै आवश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ । स्थानीय तहले समुदायस्तरमा सचेतना अभियान सञ्चालन गरी जोखिम समूहसम्म सूचना पु¥याउनु आवश्यक छ । विद्यालयको समय व्यवस्थापन र अत्यधिक चिसोमा आवश्यक परे अस्थायी बिदाको व्यवस्था पनि व्यावहारिक विकल्प हुन सक्छ । शीतलहर प्राकृतिक भए पनि यसको असर न्यूनीकरण मानव प्रयासबाट सम्भव छ । संवेदनशीलता, सहकार्य र समयमै गरिएको तयारीले धेरैको ज्यान जोगाउन सकिन्छ । राज्य, समाज र नागरिक सबैले आ–आफ्नो दायित्व बुझी सक्रिय भूमिका निर्वाह गरेमा शीतलहरको कहरलाई ठूलो विपद् बन्नबाट रोक्न सकिन्छ । त्यसैले अब शीतलहरलाई चुनौतीका रूपमा स्वीकार गर्दै सचेत र एकजुट भएर त्यसको कहरबाट बच्नु आवश्यक देखिन्छ ।










































