एमाले महाधिवेशन : पाँच लाख कार्यकर्ता उतार्दै

0
13

–बबिलाल तामाङ
नारायणगढ । देशकै सबैभन्दा ठूलो दल नेकपा एमालेको १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । त्यसको लागि आवश्यक तयारी तीव्र पारिएको चितवन एमालेले जनाएको छ ।
महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका विभिन्न समितिले काम गरिरहेका छन् । नारायणी नदी किनारमा भव्य तरिकाले मञ्च निर्माण गरिरहेको छ । मञ्चमा अत्याधुनिक प्रविधिको उच्च प्रयोग गरिने एमाले चितवनले जनाएको छ ।
उपस्थित सबैले मञ्चमा सहजै देख्न नसकिने हुँदा ठाउँठाउँमा ‘डिस्प्ले’मार्फत प्रत्यक्ष प्रसारण गर्ने एमाले चितवनकी अध्यक्ष दिलकुमारी रावल (पार्वती)ले जानकारी दिइन् । नदी किनारमा भएका खाल्डाखुल्डीसमेत पुर्ने काम भइरहेको छ ।
महाधिवेशनलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्न जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समिति निर्माण गरेर तीव्ररूपमा काम भइरहेको अध्यक्ष रावलले जानकारी दिइन् ।
उनका अनुसार जनपरिचालन समितिमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिमा जगन्नाथ थपलिया (जेएन), प्रचार समितिमा विजय सुवेदी, कार्यालय समन्वय समितिमा कपिल पोखरेल, अनुगमन समितिमा काशिनाथ अधिकारी र यातायात प्रबन्ध समितिमा कृष्ण भुर्तेल संयोजक रहेको समितिले काम गरिरहेका छन् ।
महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमा हुँदैछ भने दुई दिनसम्म चल्ने बन्द सत्र भने सौराहाको होटल सेभेन स्टारमा हुनेछ । सौराहामा हुने बन्द सत्रका लागि करिब पाँच हजार प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । तर, उद्घाटन सत्रको लागि भने देशभरबाट करिब पाँच लाख जनता नदी किनारमा सहभागी गराउने पार्टीको दाबी छ ।
अहिले प्रचार सहयोग समितिले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेशण, प्रचारका सामग्री वितरण तथा व्यवस्थानको काम भइरहेका समितिका सदस्य सचिव तिलकराम रिमालले जानकारी दिए । उनका अनुसार चितवनमा ३५ स्थानमा स्वागतद्वार निर्माण हुँदैछ । ‘जिल्लाको मुख्य र सहायक राजमार्ग गरी ३५ ठाउँमा स्वागतद्वार निर्माण हुँदैछ,’ उनले भने । समितिले प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गरिरहेको उनले बताए ।
साथै जनपरिचालन समितिले पनि महाविधेशनमा जतिसक्दो धेरै प्रतिनिधि सहभागी गराउने गरी तयारी तीव्र पारेको उनले बताए । उनका अनुसार उद्घाटन सत्रमा सहभागी हुन चितवनबाट मात्रै ६०० बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिनेछ ।
प्रतिनिधिलाई छानीछानी मासुभात
महाधिवेशनको बन्द सत्रमा सहभागी हुनेलाई प्रतिनिधिलाई तीन छाक खानाको व्यवस्था गरिएको छ । मंसिर १० गते नारायणी नदी किनारमा उद्घाटन सत्र भएपछि १२ र १३ गते सौराहाको होटल सेभेन स्टारमा बन्द सत्र हुँदैछ, खानाको व्यवस्था पनि सोही होटलले गर्नेछ । १० गते साँझको विशेष खाना पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था गर्नेछन् ।
बन्द सत्र अवधीमा हुने तीन छाक खानाको व्यवस्था भने होटल सेभेन स्टारले गर्नेछ । होटल सञ्चालक माधव दवाडीका अनुसार तीन छाक खानामा १०÷१० प्रकारका परिकारको व्यवस्था हुनेछ । हरेक छाकमा खसी, कुखुरा, माछालगायतका मासुको प्रबन्ध मिलाइएको छ ।
पहिलो छाकमा सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, शाकाहारी तरकारी, खसी, कुखुराको ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूललगायत हुनेछ ।
दोस्रो छाकमा सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरूम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँधेको र सवुदाना हुने सञ्चालक दवाडीले बताए । तेस्रो छाकमा भने सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, शाकाहारी तरकारी, खसीको मासु, कुखुराको ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई रहने छ ।
ठाउँठाउँमा पार्किङ
महाधिवेशनको लागि चितवन आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गरिने छ । एकै ठाउँमा पार्किङ सम्भव नहुने भएपछि पायक पर्ने ठाउँमा पार्किङको व्यवस्था मिलाउने गरी काम भइरहेको सदस्य सचिव रिमालले जानकारी दिए ।
पार्टीले केन्द्रीय बसपार्क, वागीश्वरी क्षेत्र, नेपाल ट्रष्टको कार्यालय, वीरेन्द्र बहुमुखी क्याम्पसको नौ बिघा चौरलगायतका स्थानमा पार्किङको व्यवस्था मिलाउँदैछ । भरतपुरको आँपटारीदेखि गोन्द्राङसम्मका अन्य स्थानमा समेत सवारीसाधन पार्किङ गर्ने गरी तयारी गरिरहेको उनले बताए ।
थप एकसय ट्राफिक परिचालन
महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन हुने हुँदा यातायात व्यवस्थापनको लागि थप एक सय जना ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।
यातायात व्यवस्था र महाधिवेशनमा ट्राफिक असहज हुन नदिन ट्राफिक प्रहरी परिचालन गरी व्यवस्थापन गर्न लागेको यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिए ।
उनका अनुसार मङ्सिर ९ गतेदेखि नारायणगढ र भरतपुर क्षेत्र केन्द्रित ट्राफिक परिचालन गरिनेछ । महाधिवेशन उद्घाटनका दिन आउने सवारीसाधनलाई व्यवस्थित गर्दै यातायातको सहज आवागमन गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग गृहकार्य भइरहेको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाका अनुसार हाल ४० जना ट्राफिक जनशक्ति रहेको चितवनमा एमाले महाधिवेशनको लागि एक सय जना थप हुने भएपछि उक्त समयमा १४० जना ट्राफिक प्रहरी परिचालित हुनेछन् ।
दुई हजार क्षमताको ‘डोम’
नेकपा एमालेले महाधिवेशनको बन्दसत्रमा पाँच हजार प्रतिनिधि सहभागी हुने पार्टीले बताउँदै आएको छ । तर, चितवनमा त्यति ठूलो जमघट गर्न मिल्ने खालको कुनै पनि हल नभएकोले अस्थायीरूपमा दुई हजार प्रतिनिधि अट्ने डोम (सभाहल) निर्माण गरेको छ ।
प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार बन्दसत्र हुने होटल सेभेन स्टारसँंगै जोडिएको दुर्ई विघा जग्गामा १३ हजार ६८ स्क्वायरफिटको डोम निर्माण गरिएको हो । साथै एक हजार दुईसय स्क्वायरफिटको मञ्चसमेत निर्माण भइरहेको उनले बताए । होटलको दक्षिणतर्फ दुई बिघा क्षेत्रफलमा पार्किङको व्यवस्था मिलाइएको उनले बताए ।
तीन हजार ५०० कोठा बुक
महाधिवेशनमा सहभागी हुन प्रतिनिधि, पाहुना, प्रहरी र पत्रकारलाई राख्न एमालेले सौराहामा ३ हजार ५०० वटा कोटा ‘बुक’ गरेको छ । प्रतिनिधिका लागि दुई छाक खाना र ३ पटकको नास्ता होटलमै व्यवस्था गरिएको छ ।
११ र १२ गते बिहानको खाना सामुहिकरूपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्ने गरी सम्झौता भएको सुवेदीले जानकारी दिए ।