काठमाडौं / गृह मन्त्रालयले आइतबार महत्त्वपूर्ण प्रशासनिक हेरफेर गर्दै ३६ जना सहसचिवहरूको सरुवा गरेको छ । सरुवामा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको जिम्मेवारी समेत हेरफेर गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा भएको यस निर्णयले गृह प्रशासनलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ । सरुवा सूचीअनुसार, रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ पठाइएको छ भने पश्चिम नवलपरासीको प्रजिअको जिम्मेवारी कृष्ण प्रसाद लम्सालले पाएका छन् । त्यसैगरी, कैलालीमा हिरालाल रेग्मी, दोलखामा नारायण प्रसाद रिसाल र पर्सामा भोला दाहाललाई खटाइएको छ । पर्सामा कार्यरत तोय नारायण सुवेदीलाई अर्घाखाँचीको प्रजिअ बनाइएको छ ।
- ADVERTISEMENT -

धनुषामा प्रेम प्रसाद लुईँटेल, कपिलवस्तुमा जनार्दन गौतम र रुपन्देहीमा माधव प्रसाद पोखरेललाई सरुवा गरिएको छ । अन्य महत्त्वपूर्ण परिवर्तनहरूमा, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर सरुवा गरिएको छ भने बर्दियाका सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटका विनोद कुमार खड्कालाई धनकुटाको जिम्मेवारी दिइएको छ ।
बाँकेमा दिल कुमार तामाङ, रौतहटमा निदेश सागर भुषाल र गुल्मीमा आनन्द सारुलाई नयाँ प्रजिअको रूपमा पठाइएको छ । अछाममा विष्णु प्रसाद कोइराला, बारामा धर्मेन्द्र कुमार मिश्र, काभ्रेमा गोपाल अधिकारी र ललितपुरमा प्रेम प्रसाद भट्टराईले जिम्मेवारी पाएका छन् । यसैगरी, मोरङमा युवराज कट्टेल, बर्दियामा गोगन बहादुर हमाल, महोत्तरीमा इन्द्रदेव यादव, भक्तपुरमा उमेश कुमार ढकाल र सुनसरीमा बासुदेव घिमिरेलाई सरुवा गरिएको छ । झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी शिवराम गेलाललाई दिइएको छ ।























