२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

देशैभर भोलि सोनाम ल्होछार मनाइँदै, मेयर दाहालद्वारा उद्घाटन

प्रकाशित मिति : २०७७ माघ २९ गते
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन । तामाङ समुदायले मनाउने मुख्य पर्व सोनाम ल्होछारको तयारी अन्तिम चरण पुगेको छ । माघ ३० गते अर्थात् भोलि शुक्रबार देशैभर तामाङ समुदायले २८५७औं सोनाम ल्होछार मनाउँदै छन् ।
भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङले २८५७औं सोनाम ल्होछारको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । समाजले छेच्यु थर्पलिङ गुम्बा भोजाडमा भोलि शुक्रबार मुसा वर्षलाई विदाई र गाई वर्षलाई स्वागत गर्दै २८५७औं सोनाम ल्होछार मनाउँदै छ ।
ल्होछार कार्यक्रमको लागि गुम्बामा रंगरोगन, तोरण र सरसफाइलगायत सम्पूर्ण काम सम्पन्न भइसकेको अध्यक्ष तामाङले भने । विगत वर्षहरु जस्तो राष्ट्रिय कलाकारलाई निम्तो नगरिने र स्थानीय कलाकार भाइबहिनीबाट नृत्य तथा गायनबाट मनोरंजन दिइने उनको भनाइ छ ।
उनका अनुसार भोलि हुने कार्यक्रमका लागि भरतपुर महानगरपालिका मेयर रेनु दाहाललाई प्रमुख अतिथिको निम्तो दिइएको छ । कार्यक्रम मेयर दाहालद्वारा शुभारम्भ गरिने बताइएको छ ।
यस्तै श्री विश्वपञ्चशील शान्ति गुम्बा लामाटोलमा ल्होछार तयारी अन्तिम चरण पुगेको अध्यक्ष शिवकुमारी लामाले जानकारी दिए । उनका अनुसार यस वर्ष कोभिड–१९ कारण भव्य कार्यक्रम नगरिने भएको हो ।
लामागुरु खेन्पो दावा लामाद्वारा आज बेलुका ग्रह फाल्ने र होम हाल्ने कार्यक्रम रहेको उनले बताए । भोलि शुक्रबार बिहान ११ बजेसम्म पूजाआजा गरिने र वाङ (दीर्घायू) थाप्ने कार्यक्रम हुने उनले जानकारी गराए ।
उनले दिउँसो शुभकामना आदानप्रदान, नाचगान र खानपिन सामान्य ढंगबाट सम्पन्न गरिने बताए । सम्पूर्ण तामाङ समुदायलाई आफ्नो मौलिक भेषभूषामा उपस्थित हुन उनले आग्रह समेत गरेका छन् ।

- ADVERTISEMENT -