२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

ब्यूटिसियन सोममायाको तृप्त–अतृप्त जीवनकथा : अमेरिकामा जितिन् ‘डम्फु साँझ २०६६’ अवार्डको उपाधि

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते


महिलाहरुले सिंगारपटार गर्ने थलो अर्थात् ब्युटिपार्लर अहिलेको निकै नै फष्टाएको व्यवसाय मध्येमै पर्दछ । परिस्थितिअनुसार महिलाहरुको लागि सिंगारपटार पहिलो प्राथमिकतामा पर्दछ । सामान्यदेखि ठूला–ठूला घरानाका सबै महिला दिदीबहिनीहरुका लागि अनिवार्य आवश्यकता जस्तै भइसकेको छ ।
पछिल्लो समय चितवनमा पनि यो व्यवसाय निकै फष्टाएको छ । बढ्दो बजारीकरणका कारण अन्य क्षेत्रसँगै ब्युटिपार्लर नफस्टाउने कुरै भएन । महिलाहरुको चाहनाअनुसारको व्युटिपार्लर यहाँ सञ्चालित छन् । महिला दिदीबहिनीहरुका लागि जीविकोपार्जनको राम्रो पाटो पनि बनेको छ । पेसाको रुपमा मात्र नभई प्रशिक्षण पनि यहीँबाट दिन थालेको वर्षौँ भइसकेको छ, जसले गर्दा व्युटिपार्लरको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति चितवनबाटै उत्पादन हुँदै आएको छ । यसले पनि व्यवसाय गर्ने र सेवाग्राही दुवै पक्षलाई फाइदा पुगेको छ ।
चितवनको भरतपुर–१० निवासी सोममाया लामा पनि विगत डेढ १ दशकदेखि यही क्षेत्रमा तल्लीन छिन् । फेमिना व्युटिपार्लरका सह–सञ्चालक उनी २०६३ सालबाट यो पेसामा संलग्न छिन् । आफ्नो सुरुवाती दिन निकै संघर्षपूर्ण रहेको बताउने उनी बीचमा केहीवर्ष पेसाबाट पनि बाहिर रहिन् । दुईवर्षको अनुभव लिइसके पनि त्यतिबेला नेपालमा यो पेसाबाट माथि उठ्ने सम्भावना कम देखेपछि सपनाको देश भनेर चिनिने संयुक्त राज्य अमेरिका छिरिन् । यहाँ आफूले सिकेको कामभन्दा नित्तान्त फरक काममा उनी विदेश गइन् । बच्चाहरुको हेरचाह र घरायसी काममा उनले जीवनको केही समय खर्च गरिन् ।


तर, ‘मिहेनत नै सफलताको कडी’ हो भनेझैँ जस्तोसुकै काम पनि गर्नुपर्छ भन्ने अठोटका साथ अगाडि बढेकी उनले बिस्तारै आफूले नेपालमा सिकेको सीपलाई पनि सदुपयोग गर्न थालिन् । ‘त्यहाँ हप्तामा ५ दिन काम गर्ने र दुई दिन छुट्टी हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर, म एक दिन मात्रै बिदा बसेर एक दिन व्युटिपार्लरसम्बन्धी काम गर्थेँ।’ उनलाई त्यो मौका भने एकजना चिनियाँ वृद्धाले दिएकी थिइन् । तर, हप्तामा एक दिन मात्रै गर्ने कामको कुनै स्थायित्व भने थिएन । तर, उनको चाहना भने आफूले सिकेको सीपको भरपुर प्रयोग गर्ने नै थियो ।
अंग्रेजी भाषा जान्नैपर्ने बाध्यता पनि अर्कोतर्फको चुनौती थियो । त्यसैले भाषा सिक्ने क्रमलाई पनि उनले तोडिनन् । भाषा सिक्नकै लागि एक जना साथीको सहयोगमा पहिलेको काम छाडेर अमेरिकनको घरमा जुइस (जुम्ल्याहा)को हेरचाहमा लागिन् । ‘ती साथीले मेरो लागि एक हप्ता समय छुट्याएर ठूलो मद्दत गरेकी छन्,’ उनी सम्झिन्छिन् । एकवर्ष अमेरिकनको जुइस हेरचाह गरेपछि भाषामा धेरथोर ज्ञान बटुलिन् र आफूलाई भाषामा केही पोख्त बनाउन सफल भइन् ।
त्यहीबेला आफ्नो चाहनाअनुसार ब्यूटिपार्लरमा नियमित काम गर्नुपर्ने अवसर मिल्यो । तर, सुरुको काम हेरे पनि मात्रै जागिर दिने कुरो गरेपछि उनी अन्यौलमा परिन् । हुन त उनलाई त्यो राम्रो अवसर पनि थियो । घरायसी काम गरिरहेकी उनले त्यसपछि एक हप्ताको बिदा लिएर पार्लरतिर लागिन् । पार्लरमा कामको प्रशंसा बटुलेपछि उनलाई स्थायी काम गर्ने मौका मिल्यो र पहिले गरिरहेको कामबाट बिदा भइन् ।
त्यसपछि उनको दिनचर्या केही परिवर्तन भयो । थ्रेडिङ, वाक्ससिङ, विभिन्न क्रिमलगायतका वस्तुसँग उनको दैनिकी सुरु भयो । तर, अमेरिकन सरकारको कानुनअनुसार चल्नुपर्ने भएकोले फेसियल भने गर्न दिइएन । किनकि फेसियल गर्न सरकारबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने रहेछ । त्यतिबेला उनको मनमा अमिलो पस्यो । ‘हुन त सरकारी नियम हो, मान्न पनि पर्छ भन्ने पनि लाग्यो,’ उनी भन्छिन् । अनुमतिपत्र नै लिनुपर्ने भएपछि उनले प्रकृया मिलाएर परीक्षा दिइन् । तर, पहिलो परीक्षामा अनुमतिपत्र हात पार्न सकिनन् । दोस्रो पटकको परीक्षामा भने उनले आफूलाई अब्बल सावित गरिन् र अनुमतिपत्र प्राप्त गरिन् । करिब पाँच वर्ष काम गरेपछि अमेरिकामा व्युटिसियनका रुपमा काम गर्न पाउने अधिकार पनि प्राप्त गरिन् । ‘त्यतिबेला मैले जीवनकै सबैभन्दा ठूलो खुसी मिलेको अनुभव गरेँ,’ उनी सुनाउँछिन् ।
त्यतिबेलाको जस्तो कडाई अहिले नभएको उनी बताउँछिन् । अहिले बढी मात्रामा पार्लर व्यवसायीहरुले खासगरी विद्यार्थीलाई ‘पार्टटाइम जब’को रुपमा अवसर दिने गरेकोले पहिलेभन्दा अहिले काम गर्न धेरै सहज भएको उनी बताउँछिन् । अनुभव संगाल्दै जाने क्रममा उनले आठ वर्षअघि सिन्धुपाल्चोककी सुनिता लामा घिसिङ र विराटनगरकी रीता पौडेलसँगको साझेदारीमा व्युटिपार्लर खोलिन्, जहाँ तीनैजना आफैँ काम गर्छन् । संघर्षै संघर्षले अमेरिका देश बाहिर पनि व्यवसाय चलाउने हिम्मत गरेकी सोममायालाई त्यसपछि सफलताले डो¥याउँदै लगेको छ । विदेशी भूमिमा पनि नेपाली नारीको पहिचान दिलाउन सफल भएकी छन् ।

- ADVERTISEMENT -

Advertisement


त्यसो त उनी सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छिन् । तामाङ सोसाइटी अमेरिका नामक संस्थामा उनी आवद्ध छिन् । त्यहाँ रहेका तामाङ समुदायले सञ्चालन गर्ने विभिन्न कार्यक्रममा उनको नियमित सहभागिता रहँदै आएको छ । तामाङ सोसाइटी अमेरिकाले प्रत्येक दुई वर्षमा आयोजना गर्ने ‘डम्फु साँझ २०६६’ मा उनले अवार्ड समेत हात पारिन् । उक्त अवार्डमा उनीसँगै नेपालका ख्यातिप्राप्त गायक रोज मोक्तान, प्रेम लोप्चन, सिर्जना तामाङ, धरमवीर लामाले पनि अवार्ड हात पारेका थिए । आफ्नो इमान्दारिता र आफूले गरेको हरेक क्रियाकलापको मूल्यांकनकै कारण आफूलाई अवार्ड प्रदान गरिएको उनको बुझाइ छ ।


त्यतिमात्र होइन, एएनएको कार्यक्रममा मोडलहरुको कपाल र पोषाक डिजाइनमा पनि उनी उत्कृष्ट भएकी थिइन् । उनले बोस्टन, इथाकालगायत विभिन्न स्थानमा १२ देखि १५ जनाको समूह बनाएर ठूला–ठूला कार्यक्रम सम्पन्न गरिसकेकी छन् । ल्होसार, डम्फु नाचलगायत तामाङ जातिले मनाउने विभिन्न चाडपर्व र मञ्चिय कार्यक्रमहरुमा पनि उनले आफ्नो क्षमता देखाइसकेकी छन् ।
नृत्यतर्फ पनि झुकाव राख्ने उनी करिब १३ वर्षको अमेरिका बसाइपछि नेपाल आएकी छन् । अमेरिकी सरकारले दिने ‘ग्रीनकार्ड’ प्राप्त गर्ने चरणमा ३ महिना बाँकी हुँदा उनी नेपाल आइन् । जीवनको संघर्षमय उमेर विदेशमा बिताए पनि मेहनतको फल (ग्रीनकार्ड) हात लाग्ने बेलामा स्वदेश फर्किनुपर्दा कताकता मनमा अमिलो महसुस भएको उनी सुनाउँछिन् । ‘हुन त आफ्नो देश जस्तो अरुको देशको माया हुँदैन, तर लामो समयसम्मको संघर्षपछि पाउन लागेको फल चाख्न नपाउँदा कताकता मनमा नमीठो छाप पर्दोरहेछ,’ उनी भन्छिन्, ‘किनकि हजारौँ नेपालीले त्यसैको लागि वर्षौैँदेखि कति संघर्ष गरिरहेका छन् ।’


उमेरले आधा दशक पार गरिसके पनि आफ्नो काममा दत्तचित्त भएर लागेकी उनले अझै हिम्मत हारेकी छैनन् । अझै पनि नेपाली समाज र नयाँ पिढीका लागि धेरै काम गर्न बाँकी रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘जीवन रहेसम्म संघर्ष पनि जारी रहन्छ । त्यसैले बाँचुञ्जेल आफ्नै हातको पौरखमा रमाउनुपर्छ र कमाएको केही अंश समाजको लागि पनि खर्चिनुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45