चितवन / देशैभरका गुरूङ समुदायले तमू ल्होसार पर्व धुमधामकासाथ मनाएका छन् । चितवनका गुरुङ समुदायले विभिन्न गुम्बा तथा बस्तीहरूमा बिहीबार ल्होसार पर्व धुमधामसँग मनाएको हो ।
यसैबीच गुरूङहरूको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले महाबौद्ध गुम्बा तीनखोलेमा बृहत् कार्यक्रम आयोजना गरी तमू ल्होसार पर्व मनाएको छ । पुस १५ का दिन पर्ने तमू ल्होसार पर्व विशेषगरी गुरुङ समुदायको ठूलो चाडको रुपमा लिइन्छ ।
गतवर्ष कोरोना भाइरस जोखिमका कारण ल्होसार पर्व मनाउन नपाएका चितौने गुरूङहरूले यसवर्ष भने खुसीयाली साटासाट गरेर हर्सोल्लासका साथ ल्होसार मनाएका हुन् ।
१२ वटा जीवजन्तुको नाममा स्थापित वर्ग चक्रमध्ये यसवर्ष गाई वर्ग (ल्वों ल्हो)लाई बिदाइ तथा बाघ वर्ग (तो ल्हो)लाई स्वागत गरेर ल्होसार मनाइएको तमू ह्युल छोँज धीं चितवनका अध्यक्ष गणेशबहादुर गुरूङले बताए ।

यस्तैगरी परिषद्ले ल्होसारको अवसरमा हरेक वर्ष नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनले सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । यसवर्ष पनि तमू विद्यार्थीले नै सांस्कृतिक कार्यक्रमको संयोजन गरेको थियो । विद्यार्थीले संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा आयोजित प्रतियोगितामा भतेरी युथ क्लब भरतपुर–२९, जुगेडीले प्रथम स्थान हासिल गरेको छ । कुल १२ समूह सहभागी भएको उक्त कार्यक्रममा भरतपुर–२, रामकृष्ण टोल द्वितीय र भरतपुर–७, प्रेमबस्ती इकाइ तृतीय हुन सफल भएको छ। बिजेता समूहलाई क्रमशः दस हजार, सात हजार र पाँच हजारका दरले पुरस्कृत गरिएको नेपाल तमू विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष कविन गुरूङले जानकारी दिए ।
यस्तै दुई समूहलाई भने सान्त्वना पुरस्कार प्रदान गरिएको उनले बताए। कालिका नगरपालिका वडा नं.७ स्थित सगुन टोल र भरतपुर–७ मस्र्याङ्दी टोलस्थित गुराँस तमू युवा समाजलाई सान्त्वना पुरस्कार बापत नगद दुई÷दुई हजारका दरले पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरूङले बताए ।
- ADVERTISEMENT -












































