चितवन / देवघाटधाममा रातभर जाग्राम बसेर पुजा गर्ने भक्तजनहरुका लागि आइतबार बिहान तातो चिया खुवाउने कार्यक्रम गरिएको छ । नेवा पत्रकार राष्ट्रिय दवु चितवनको आयोजना र एस एण्ड पि अडिटिङ कम्पनीको सहयोगमा चिया खुवाउने कार्यक्रम गरिएको हो ।
सामाजिक सेवाभावले थोरै भएपनि मानवीय कार्य गर्ने उद्देश्यले देवघाटधाममा आएका भक्तालुहरु र माघे संक्रान्ति मेलाका लागि आएकालाई चियापान गराइएको दवुका अध्यक्ष अनुज जोशीले बताए । उनका अनुसार नौ सय बढी भक्तजन र मेला आएकालाई चियापान गराइएको हो ।
हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । मेलामा नेपालसहित भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । कोभिड–१९ का कारण विगत केही वर्ष जिल्ला प्रशासन कार्यालय चितवनले देवघाटमा माघे संक्रान्ति मेलालाई रोक लगाएको थियो ।
विभिन्न समयमा एकल रुपमा असहाय तथा वृद्धवृद्धा भोजन र विपन्न विद्यार्थीहरुलाई जिन्सी सहयोग गर्दै आएका एस एण्ड पी अडिटिङ कम्पनीले यसपटक नेवा पत्रकारसँग सहकार्य गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक सूर्य श्रेष्ठले देवघाटधाममा पाल्नु भएका भक्तजनहरुलाई चियापन कार्यक्रमले थोरै भएपनि मानविय कार्य गर्न सकिएको बताए ।
कम्पनीबाट हुने आम्दानीको एक चौथाई सामाजिक कामका लगानी गर्दै आएको श्रेष्ठको भनाइ छ । भरतपुर ११ वाइपास रोडमा अवस्थित एस एण्ड पी कम्पनीले करिब एक दशकदेखि कम्पनी दर्ता, अडिटिङ, कम्पनी खारेजी लगायतका सेवा दिँदै आएको छ ।