March 15, 2025
- ADVERTISEMENT -

राप्तीमा ४ दिने तामाङ भाषा लिपी सुरु, भरतपुरमा पनि हुने

May 22, 2023

–राजेश रुम्बा तामाङ
चितवन । आदिवासी जनजाति हक अधिकार संरक्षण समिति राप्ती नगरपालिकाको आयोजनामा ४ दिने तामाङ भाषा (तामयीग) लिपी प्रशिक्षण सुरु गरेको छ । संरक्षण समितिले राप्ती नगरपालिकाका हरेक वडाबाट ३ जनाको सहभागितामा ४ दिने तामाङ भाषा (तामयीग) लिपी प्रशिक्षण सुरु गरेको हो ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका सचिव तथा कार्यक्रमका संयोजक सन्देश घलानले तामाङ महिला लक्षित उक्त तालिमबाट समुदाय बढी लाभान्वित हुने धारणा व्यक्त गरे । पछिल्लो समय तामाङ समुदाय आफ्नो भाषाबाट बन्चित हुँदै गएकोले तालिमको अत्यावश्यक भएको उनको भनाइ थियो ।
कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सीताराम बल, नेपाल तामाङ घेदुङका काजीमान तामाङलगायतले आफ्नो भनाइ राखेका थिए । तालिम जेठ ४ गते सुरु भएको हो भने १० गते समापन हुने समितिले जनाएको छ ।
कार्यक्रम आदिवासी जनजाति हक अधिकार संरक्षण समितिका अध्यक्ष देवेन लामाको सभापतित्वमा सम्पन्न भएको हो ।
यसैबीच तामाङ पत्रकार संघ चितवनले पनि निकट भविष्यमा ‘तामाङ भाषा प्रशिक्षण तालिम’ संचालन गर्ने भएको छ । तालिमको अन्तिम तयारी भइरहेको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार स्थानीय पालिकासँग बजेटको लागि पहल भइरहेको र जेठमै ‘तामाङ भाषा प्रशिक्षण तालिम’ सुरु गरिने छ । भरतपुर आसपासका तामाङ समुदायलाई लक्षित गरी उक्त तालिम दिन लागिएको अध्यक्ष तामाङको भनाइ छ ।
तालिममा ६० जना तामाङ युवायुवतीलाई तामाङ भाषा सिकाइने लक्ष्य लिएको संघले जनाएको छ ।

- ADVERTISEMENT -