चितवन / जिल्लामा पहिलो पटक बुबा नभएको स्वघोषणा गराएर नागरिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर १२ का १९ वर्षिय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिएको हो ।
मायाँदेवी उपाध्यायको छोरा विशालले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्माले जानकारी दिए ।
सहायक प्रजिअ शर्माका अनुसार नेपालका नागरिकता ऐनको पहिलो संसोधन र नियमावलीको तेस्रो संसोधन अनुसार नागरिकता दिइएको हो । परिमाजित ऐन अनुसार उपाध्याय नागरिकता लिने पहिलो व्यक्ति भएको उनले बताए ।
उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गरेका हुन् । प्रजिअ थापाले ऐनमा भएको संसोधनले आम नागरिक नागरिकताको समस्याबाट मुक्त भएको बताए ।
स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारवाही हुने उनले बताए । उनले कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको जानकारी दिए ।
श्रीमान १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको मायाँदेवीको भनाइ छ । उनका अनुसार छोरा जन्मिएको एक वर्षपछि उनका बुबा हराएको र अहिलेसम्म सम्पर्कमा छैनन् ।
छोराले आफ्नो नामबाट नागरिकता पाएपछि उनले खुशी व्यक्त गर्दै थप जिम्मेवारीको महसुस भएको बताइन् ।