April 25, 2025

शव पहिचानका लागि सहयोग गर्न प्रहरीको अनुरोध

November 26, 2023
- ADVERTISEMENT -

चितवन / चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्टमा बुधबार दुई वटा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुईवटा शवको हालसम्म पनि पहिचान हुन सकेको छैन । कल्भर्टमुनि शङ्कास्पद अवस्थामा महिला र पुरुषको शव भेटिएपछि चितवन प्रहरीले ७७ वटै जिल्लामा हुलिया परिपत्र गर्दासमेत हालसम्म सनाखत हुन नसकेको जनाएको छ ।
अहिलेसम्म पनि मृतकको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको शरिरमा रहेका चिजबस्तु, चिन्ह तथा कपडाहरुबाट सनाखत हुन सक्ने हुँदा उक्त चिजबस्तु, चिन्ह तथा कपडाको फोटो हेरी चिन्नका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले हुलियाको आधारमा शव पहिचान गर्ने जो कोहिले नजिकको प्रहरी कार्यालय तथा चितवन प्रहरीको सम्पर्क नम्बर ९८५५०९०१३३ मा फोन सम्पर्क गरी अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरिएको छ ।
उनका अनुसार अन्दाजी ३५ वर्षको पुरुष र ३० वर्षको महिलाको शवको कल्भर्टमुनि फेला परेको हो । करिब उचाई ५ फिट ७ ईन्च भएको पुरुषले रुपा फ्रन्टलाइन साइज ८० सेमी लेखेको सेतो रङ्गको सेण्डो, सुपरड्राइ लेखिएको निलो रङ्गको हाफ कट्टु, डुरो ८० डबल लेखिएको खैरो रङ्गको पेन्टी लगाएको, वर्ण गहुँगोरो, मझौला शरीर, झट्ट हेर्दा तराई मूलको जस्तो देखिने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको पण्डितले जानकारी दिए ।
त्यस्तै, उचाई ५ फिट ३ ईन्च भएकी महिलाले साइज एल लेखिएको पाइन्ट र खैरो रङ्गको पेन्टी लगाएको, अन्सारी फेन्सी ३२–८० लेखिएको ब्रा, बायाँ हातमा ‘ए’ वा ‘एम’ जस्तो र एस लेखिएको ट्याटु खोपेको, टप्स एक थान, सल दुई थान, दुवै कानमा झुम्का लगाएकी, घाँटीमा एक साईडमा दुर्गा र अर्को साईडमा मन्दिर सहितको फोटो भएका माला लगाएकी भन्दै पण्डितले यदि यो हुलिया भएका व्यक्ति हराइरहेका भए प्रहरीलाई खबर गरिदिन आग्रह गरेका छन् ।

- ADVERTISEMENT -