चितवन / दोस्रो ‘नारायणी महोत्सव–२०८३’ को छैटौँ दिन मंगलबार चर्चित गायिका समीक्षा अधिकारीको प्रस्तुतिले महोत्सवको माहोल ततायो । अधिकारीको प्रस्तुति सुरु भएसँगै उनलाई नजिकबाट हेर्न र गीतमा रमाउन दर्शकको भीड लागेको थियो ।
अधिकारीले ‘सुर्ती माड्दा माड्दै’, ‘कता हिँडेको बिजुली बालेर हट भएर पट भएर’ लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दा दर्शकले गीतसँगै नाचेर साथ दिएका थिए । करिब एक दर्जन गीत गाएर उनले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । उनका चर्चित गीतमा दर्शकले हुटिङ र तालीमार्फत साथ दिँदा सांस्कृतिक कार्यक्रमस्थल थप उत्साहपूर्ण बनेको थियो ।
आफ्नो सुमधुर स्वर, ऊर्जाशील प्रस्तुति र दर्शकसँगको आत्मीय संवादमार्फत अधिकारीले महोत्सवमा उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाइन् । उनको प्रस्तुतिले महोत्सवको सांगीतिक कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको पिरामिड शैलीको आकर्षक प्रवेशद्वार, जिरो ग्र्याभिटी राइड र रोटेपिङले दर्शकको ध्यान खिचिरहेका छन् । प्रवेशद्वारमा फोटो खिच्ने तथा विभिन्न मनोरञ्जनात्मक खेल र राइडमा रमाउने दर्शकको उपस्थिति बढ्दो छ ।
- ADVERTISEMENT -


आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनालाई उद्देश्य बनाएर आयोजना गरिएको महोत्सवमा विभिन्न व्यापारिक स्टल, स्थानीय उत्पादन, खानाका परिकार तथा मनोरञ्जनात्मक गतिविधि राखिएका छन् । महोत्सवले स्थानीय व्यवसायी तथा उत्पादकलाई आफ्ना वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सञ्चालित महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुषालका अनुसार आगामी दिनमा पनि विभिन्न राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइनेछ । आयोजकले परिवारसहित महोत्सवमा सहभागी भई अवलोकन तथा मनोरञ्जन लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।


















































