चितवन / मङ्गोल नेशनल अर्गनाइजेशनले भरतपुरमा ‘मङ्गोल जागरण तथा आम भेला’ गर्ने भएको छ । मङ्गोल अर्गनाइजेशनको भरतपुर महानगर सभाले भरतपुर–२० स्थित माइली चोकमा आम भेला गर्न लागेको शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
फागुन २१ गते हुने भेलामा महानगरपालिकाभित्रका करिब पाँच सय सदस्यको सहभागी रहने महानगर सभाका प्रवक्ता मेकना तामाङले जानकारी दिए । उनका अनुसार भेलालाई सम्बोधन गर्नको लागि मङ्गोल अर्गनाइजेशन केन्द्रीय सभाका मूल सचिव सन्तोष तामाङ, प्रवक्ता रिन्छेन तामाङ, केन्द्रीय सभा सदस्य प्रवीना थापामगर, कल्पना चौधरीलगायतका नेता चितवन आउने छन् ।
मङ्गोल नेशनल अर्गनाइजेशनबारे जनमानसमा जानकारी गराउन र कार्यकर्ता तहमा बलियो उपस्थिति देखाउनको लागि पनि महानगर सभाले भेला गर्न लागिएको उनको भनाइ छ । ‘आम भेलामार्फत मङ्गोलबारे जागरण फैलाउने र नेपालमा रहेका मङ्गोल समूदायलाई एक ठाउँमा ल्याउने हाम्रो अभियान हो,’ उनले भने ।
मङ्गोल नेसनल अर्गनाइजेशन चितवनका सचिव सुरेश तामाङले राज्यबाट भइरहेको विभेदकारी व्यवहारलाई अन्त्य गराउनको लागि मङ्गोलले लामो समयदेखि संघर्ष गर्दै आएको बताए ।