सर्लाही / मिर्जापुरको एक बिहे घरमा आगलागी हुँदा झण्डै ६ लाख रुपैयाँ क्षति भएको छ भने २ जना घाइते भएका छन् ।
सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा मंगलबार राति आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
- ADVERTISEMENT -

सर्लाहीका प्रहरी प्रवक्ता दीपक श्रेष्ठका अनुसार आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा उक्त रुपैयाँ बराबरको क्षति भएको हो ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको बताइएको छ । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित २ जना घाइते भएका हुन् ।
घाइतेको दुवै हात र खुट्टा जलेको प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मंगलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यस्तै, सोही राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो ।
दुबै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।











































