दाङ / तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान ४ः५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका ३ साततेलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका – ४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका – ६ का १९ वर्षीय सुरेश खड्का छन् उनीहरूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अलिन ठकुरीले जानकारी दिए ।
पाँच जना सवार रहेको जिप सडकबाट झन्डै तीनसय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर छ ।
सल्यानको कपुरकोट गाउँपालिका – ६ की ३१ वर्षीया टीकादेवी वली, उनका १३ र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते रहेको र उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको डिएसपी ठकुरीले जानकारी दिए ।
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपागञ्ज रेफर गरिएको हो।