काठमाडौं / चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।
मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान जानेको संख्या ५३ पुगेको तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जानकारी दिएको हो ।
- ADVERTISEMENT -

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।
- ADVERTISEMENT -

समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।










































