चितवन / राप्ती नगरपालिका निवर्तमान उपमेयर तथा समाजसेवी ईमानसिङ लामा भूमि समस्या समाधान आयोग चितवनका अध्यक्षमा चयन भएका छन् ।
काठमाडौंमा सोमबार भएको एक विशेष उच्चस्तरीय बैठकले समाजसेवी लामालाई अध्यक्षमा चयन गरिएको हो । नेपाल तामाङ बुद्धिजिवि वर्ग समूहका प्रमुख सल्लाहकार समेत रहेका उनी लुम्बिनी बिकास कोषका कार्यकारी प्रमुख समेत भए ।
भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको विकास गर्ने लक्ष्य र आदर्शलाई बढी प्रभावकारी बनाउने नेपाल सरकारको कटिबद्धतालाई विश्व जनसमक्ष प्रस्तुत गर्न र सो अनुरुप लुम्बिनी विकास योजनालाई बढी समन्वयात्मक र सुचारु रुपले संचालन गर्न महत्वपूर्ण योगदान साथै प्रमुख भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रिय स्तरबाटै उनी सम्मानित भएका हुन् ।
विगत लामो समयदेखि दुःखी, गरिब र सहाराविहीनहरुको सहारा बन्दै आइरहेका लामाले राप्ती नगरपालिकाको उपमेयरमा रहँदा आफूले पाएका सबै सेवा सुविधा वापतको भत्ता खर्चहरु दुःखी, गरिव, असहाय, अपाङ्गलगायत एकल महिलाहरुको लागि सहयोग गर्नुका साथै ६ वटा घर निर्माण गरी हस्तान्तरण गरेका थिए ।
यसका साथै कोभिडको समयमा २२७ जना बिरामीहरुलाई प्रत्यक्ष रुपमा आफैं सहभागी भई हस्पिटलसमा लाने र लैजाने साथै उपचार कार्यमा सहयोग गरेका थिए । हालसम्म पनि उनले आफ्नो सहयोगी हातलाई निरन्तरता दिइरहेका छन् ।
भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा चयन पश्चात् खुशी व्यक्त गर्दै आफूले जनपक्षीय र जनचाहना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।