– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. १० निवासी मृगौला पीडित मनोज पाण्डेले आर्थिक सहयोग पाएको छ । उपचार सहयोगार्थ सवा पाँच लाख रुपैयाँ उनको परिवारलाई शनिबार हस्तान्तरण गरिएको ‘मृगौला पीडित मनोज पाण्डे बचाउ अभियान’का संयोजक शम्भुलाल पाख्रिनले जानकारी दिए ।
- ADVERTISEMENT -

शान्ति इन्द्रेणी टोल विकास संंस्थाका उपाध्यक्ष समेत रहेका संयोजक पाख्रिन, कार्यक्रमका प्रमुख अतिथि तथा अक्सफोर्ड इन्जिनियरिङ कलेजका प्रिन्सिपल हरिप्रसाद भण्डारी लगायतले मृगौला पीडित पाण्डेको परिवारलाई चेक मार्फत एकमुष्ठ सो रकम हस्तान्तरण गरिएको हो ।
ब्यानर वाचन गरेर कार्यक्रम उद्घाटन गरेका प्रमुख अतिथि भण्डारीले आगामी दिनमा पनि मानवीय सेवाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मृगौला पीडित परिवारका एक जनालाई कमाएपछि तिर्ने शर्तमा मास्टर डिग्रीसम्मको पढाइ खर्च हाललाई नलिने घोषणा समेत गरे ।
उपचारका लागि भरतपुर १० मा रहेका विभिन्न टोल विकास संस्थाहरुले आर्थिक सहयोग संकलनका लागि अभियान नै थालेको संयोजक पाख्रिनले बताए । उनका अनुसार वर्ष २१ का पीडित पाण्डेलाई आफ्नै बुबा पुरुषोत्तम पाण्डेले मृगौला दिने भएको हो ।
पीडित पाण्डेलाई शहीद धर्मभक्त मृगौला प्रत्योरापण केन्द्र काठमाडौंमा मृगौला प्रत्यारोपण गरिने बताइएको छ । करिब पाँच वर्ष अघि उनको मृगौलामा समस्या आएको र उमेर कम भएकै कारण उपचारमा ढिलाई भएको उनले बताए ।
कार्यक्रममा दोभान कालिका नमूना टोल विकास संस्थाका अध्यक्ष दिवाकर ढकाल, ज्ञानदर्शन टोल विकास संस्थाका अध्यक्ष इन्दिरा बराल, चित्रसेन टोल विकास संस्थाका अध्यक्ष चिन्तामणि गौतम, सप्तगण्डकी टोल विकास संस्थाका सचिव श्री खगराज आचार्य, शान्ति इन्द्रेणी टोल विकास संस्थाका सदस्य हरिप्रसाद वस्ती लगायतको उपस्थिति रहेको थियो ।







































