April 20, 2025

विदेशमा नेपाली श्रमिकको मृत्युपछि सुरक्षा चासो बढ्दै

February 27, 2025
- ADVERTISEMENT -

काठमाडौं / दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित ‘वूसङ्ग पिग फार्म’ मा कार्यरत एक नेपाली श्रमिकको निधन भएपछि विदेशी भूमिमा नेपाली कामदारहरूको सुरक्षाबारे फेरि बहस सुरु भएको छ ।

नेपालको म्याग्दी जिल्ला निवासी २८ वर्षीय तुलसी पुन मगर शनिबार मृत अवस्थामा फेला परेका थिए । सोलस्थित नेपाली राजदूतावासका अनुसार कोरियाली प्रहरीले यस घटनालाई ‘आत्महत्या’ का रूपमा उल्लेख गरेको छ ।

मृत्यु घटनापछि सो फार्ममा कार्यरत अन्य नेपाली श्रमिकहरूले असहज कार्यस्थितिका कारण त्यहाँ काम गर्न नसक्ने बताएका थिए । राजदूत शिवमाया तुम्बाहाम्फेका अनुसार श्रमिकहरूको मागलाई ध्यानमा राख्दै रोजगारदाता कम्पनीले चरणबद्ध रूपमा कामदारहरूलाई अन्यत्र जान दिन सहमति जनाएको छ । ‘कामदारहरूको असन्तुष्टिलाई मध्यनजर गर्दै बङ्गुर फार्मका मालिकले दुई साताभित्र सबै नेपाली कामदारलाई कम्पनी छोड्न दिने सहमति जनाएका छन्,’ तुम्बाहाम्फेले बताइन् ।

यसबीचमा तीनजना नेपाली श्रमिकहरू ‘रिलीज लेटर’ लिई कम्पनीबाट बाहिरिसकेको जानकारी दूतावासले दिएको छ । दूतावासले घटनाको विस्तृत अध्ययन गर्न श्रम काउन्सिलर मैया कँडेलसहितको टोलीलाई घटनास्थलमा पठाएको थियो । टोलीले पीडित श्रमिकका सहकर्मी, कम्पनी व्यवस्थापक तथा मालिकसँग छलफल गरी भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

नेपाल सरकार तथा सम्बन्धित निकायहरूले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा र मानसिक स्वास्थ्यका विषयलाई अझ गम्भीर रूपमा लिनुपर्ने आवाजसमेत उठ्न थालेको छ । मृतकको पार्थिव शरीर शुक्रबार नेपाल पठाइने प्रक्रिया अगाडि बढाइएको दूतावासले जनाएको छ ।

- ADVERTISEMENT -