चितवन / भरतपुर महानगरपालिकामा भित्र बसोबास गर्ने १२९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ का ११६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १२९ घरधुरीलाई आइतबार एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासीलाई जग्गा दिने विषयलाई राजनीतिकरण गर्न नहुने तर्क राखिन् ।
‘सुकुम्बासीलाई लालपूर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध देखिने छैन’ उनले भनिन्, ‘हामी नागरिकप्रति जिम्मेवार छौ, स्थानीय सरकार भरतपुर महानगर जिम्मेवार छ, कानुन, विधि र ऐनअनुसार यो कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
भरतपुरमा महानगरपालिकाको तथ्याङक अनुसार भूमिहिन दलित २ हजार ५२, भूमिहिन सुकुम्बासी ३ हजार ९ सय १७ र अव्यवस्थित ५ हजार २ सय ३७ गरी ११ हजार २ सय ६ जना सुकुम्बासी घरधुरी रहेका छन् ।