चितवन / नारायणगढको क्याम्पाचौरमा “मेड इन नेपाल एक्स्पो एण्ड फुड फेष्टिवल” आयोजना हुने भएको छ । नेपाली उत्पादन प्रर्वद्धन तथा युवाहरुलाई व्यवसायिक सीपको विकास गर्ने उद्देश्यले उक्त नेपाल एक्स्पो हुन गइरहेको शुक्रबार पत्रकार सम्मेलन मार्फत नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार एक्स्पो चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुनेछ भने तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा स्वदेशीमा उत्पादन हुने खाद्यन्न सामग्रीदेखि विलासी सामग्री सम्मको अवलोकन गर्न पाइनेछ ।
स्वदेशी स्वादिष्ट अचार, मह, स्वदेशी कपडा, टोपी, ब्याग, जुत्ता, सेन्चुरी मसलादेखि १ सयभन्दा बढी नेपाली उत्पादन सम्बन्धि व्यवसायिक स्टलहरु रहने उनले बताए ।
कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परगत कपडा, फूड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी, तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायहरु सहभागीहुने मञ्चका पूर्व अध्यक्ष सुर्यभक्त अधिकारीले जानकारी दिए ।
नेपाली उत्पादन, युवा व्यवसायशीलता र सांस्कृतिक पहिचानको उत्सवको रुपमा आयोजनाहुने एक्स्पोमा दैनिक राष्ट्रिय कलाकारहरुको सांगेतिक प्रस्तुती समेत रहनेछ । विहान १० बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो संचालन हुनेछ । एक्स्पोमा अवलोकन गर्न आउनेहरुले कुनै शुल्क तिर्नुपर्दैन ।
साँझ ५ बजेदेखि ९ बजेसम्म ग्राण्ड फूड फेस्टिभल हुनेछ । देशका विविध जातीयता र क्षेत्रीय भान्साका मौलिक खानाहरुको स्वाद लिन सकिने मञ्चका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए ।
एक्स्पो अवलोकन निःशुल्क भएपनि सांगेतिक कन्सर्ट हेर्नका लागि भने ३ सय र ५ सय रुपैयाँको टिकट लिनुपर्ने छ ।