२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

प्रकाशित मिति : २०८२ बैशाख १६ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / सरकार र आन्दोलनरत शिक्षकबीच सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्ता पनि निष्कर्षविहीन रूपमा टुंगिएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा सिंहदरबारमा बसेको छलफलले ठोस सहमति निकाल्न नसके पनि संवादलाई निरन्तरता दिने सहमति भएको हो ।

वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ उनले भने ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । ‘मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘हामी भर्खरै मन्त्रालयबाट बाहिरआयौँ । हाम्रो आन्दोलन जारी छ ।’

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

- ADVERTISEMENT -