काठमाडौँ / हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय देखिएको छ ।
यिनै प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । विशेषगरी कोशी प्रदेशसहितका पहाडी क्षेत्रहरूमा र देशका अन्य थोरै भू(भागहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । साथै, हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने देखिन्छ ।
रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम प्रायः सफा रहनेछ । यिनै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना कायम रहेको छ । हिमाली भू(भागमा पनि एक(दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
मौसममा भइरहेको यस्तो परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।