काठमाडौँ / देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण नदीहरूको जलस्तर बढेर खतराको संकेत गरेपछि सरकारले उच्च सतर्कता अपनाएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती, बबई र भेरी नदीमा जलस्तरले खतराको तह पार गरिसकेको भन्दै सम्भावित जनधनको क्षति रोक्नका लागि जोखिमयुक्त क्षेत्रहरूमा तत्काल सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन् ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमानसँगै नदीहरूमा बढेको पानीको सतहलाई लिएर कार्यवाहक प्रधानमन्त्री सिंहले आकस्मिक बैठक बोलाएका थिए । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले कार्यवाहक प्रधानमन्त्रीले उत्पन्न परिस्थितिबारे गम्भीर चासो व्यक्त गरेको जानकारी दिए ।
- ADVERTISEMENT -

‘राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाइएको हो,’ कार्यकारी प्रमुख भट्टले भने, ‘त्यो बाहेक देशभर विपद्मा के भइरहेको छ र कहाँ पानी कति परेको छ भन्ने सन्दर्भमा पनि छलफल भयो ।’
कार्यवाहक प्रधानमन्त्री सिंहले विशेषगरी राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अलि बढी पानी पर्ने र जलस्तर बढ्ने भएकाले सचेत हुन सबै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई र सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको पनि भट्टले बताए । प्राधिकरणका अनुसार, मंगलबार महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले त्यहाँ पनि सचेत हुन आग्रह गरिएको छ । कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिएका थिए र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले त्यहाँको वस्तुस्थिति बारेमा जानकारी गराएका थिए ।
- ADVERTISEMENT -

सरकारले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा रहन, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेको सूचनालाई ध्यान दिन अपिल गरेको छ ।







































