– बबिलाल तामाङ
भरतपुर । चितवन जिल्ला अदालतले छठ पूजापश्चात् नयाँ मुद्दा तथा निवेदन दर्ता र सुनुवाइ थालनी गर्ने भएको छ । जेनजी आन्दोलनमा अदालतमा तोडफोड र आगजनी हुँदा नियमित काम कारबाही रोकिएको थियो ।
अदालतमा मिसिलहरु सुरक्षित रहेकाले कात्तिक ११ गतेपछि चालू अवस्थाका मुद्दाहरुमा नियमित सुनुवाइ हुने भएको हो ।
- ADVERTISEMENT -

चितवन जिल्ला अदालतका स्रेस्तेदार देवीराम भण्डारीका अनुसार कात्तिक ११ गतेदेखि थप तीनवटा सेवाहरु सुरू हुने भएको छ । नयाँ दर्ता हुन आउने मुद्दा तथा निवेदनहरु दर्ता, मिसिल सुरक्षित रहेका चालू अवस्थाका मुद्दाहरुमा नियमित सुनुवाइ र फैसला कार्यान्वयनतर्फ तहसिल शाखामा मिसिल सुरक्षित रहेका चालू अवस्थाका निवेदनहरुमा नियमित कामकारबाही सुरू गर्ने निर्णय गरिएको स्रष्तेदार भण्डारीले बताए ।
उनका अनुसार फाँट नं ४ को एउटा, फाँट नं ५ को ५७ वटा, फाँट नं ६ को ३०९ र फाँट नं ७ को ३०३ गरी ६७० थान मिसिलहरु सुरक्षित रहेका छन् । आन्दोलनका क्रममा करिब १४ सय थान मिसिल जलेर नष्ट भएको अनुमान छ । यसैगरी, तहसिल शाखामा रहेका फैसला कार्यान्वयनका ३९६ वटा मिसिलहरु सुरक्षित रहेको उनले जानकारी दिए । सुरक्षित रहेका मिसिलहरुको विवरण अदालत र चितवन जिल्ला अदालत बार एसोसिएसनको सूचना पाटीमा टाँस गरिएको उनले जानकारी दिए ।
भदौ २३ गतेदेखि कात्तिक १० गतेसम्म तारेख÷पेसी, म्याद र हदम्याद रहेको, तर जेनजी आन्दोलनबाट सिर्जित परिस्थितिका कारण अदालतमा उपस्थित हुन नसकेका पक्ष तथा व्यक्तिहरु आगामी मङ्सिर १० गतेसम्म अदालतमा उपस्थित हुनुपर्ने छ ।
त्यस्ता पक्ष तथा व्यक्तिहरुलाई कात्तिक ११ गतेदेखि ३० दिनभित्र आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए । सर्वाेच्च अदालतले अदालतको सर्भर तयार भइरहेकोले सर्भर सञ्चालनमा आएपछि जलेका मिसिलहरुको विवरण निकाल्न सकिने छ । सर्वाेच्चले सिस्टम सर्भर (केस म्यानेजमेन्ट सिस्टम) सुचारू गरेपछि जलेका मिसिल विवरण निकाल्न सकिने सूचना अधिकारी विश्वकर्माको उनको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा रवि लामिछानेसँग जोडिएको सहकारी ठगीको मुद्दाको मिसिलसमेत जलेर नष्ट भएको छ । सहकारी ठगीसहितका करिब १४ सय मुद्दाको मिसिल जलेर नष्ट भएको हो ।






























