चितवन / थाइल्यान्डबाट सुरू गरेको विश्वशान्तिका लागि पदयात्रामा निस्किएका बौद्ध भिक्षु (भन्ते)हरु ५२ दिनपछि भरतपुर आइपुगेका छन् । चितवनको पूर्वी नाका लोथरबाट हिँडेका उनीहरु आइतबार साँझ पौने ५ बजेतिर तीनखोलेस्थित महाबौद्ध गुम्बा परिसर आइपुगेका हुन् ।
नेपालका लागि यात्राको संयोजन गरिरहेका भिक्षु मेधङ करेस्थ स्थवीरका अनुसार थाइल्यान्डबाट भारतको आसाम, त्रिपुरा हुँदै नेपालको लुम्बिनीसम्मको यात्रामा चितवन आइपुगेको हो ।
- ADVERTISEMENT -

‘शान्तिका लागि धम्म यात्रा, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसम्म’ भन्ने नारासहित भन्तेको टोली नेपाल यात्रामा आएको संयोजक स्थवीरले जानबारी दिए । विश्व यात्रामा निस्किएका पाँच समूहमध्ये एउटा समूह नेपाल आइपुगेको उनले भने ।
नेपाल प्रवेश गरेको सातौँ दिनमा चितवन आइपुगेको टोलीले नेपालमा मात्रै लुम्बिनीसम्मको ३१९ किलोमिटर पदयात्रा तय गर्नेछ । नेपाल भित्रिएको १५औँ दिन अर्थात् २२ फेब्रुअरीसम्म हुने यात्राका लागि बाटोमा पर्ने गुम्बा तथा बौद्ध विहारहरुसँगको समन्वयमा ठाउँ–ठाउँमा भेटघाट तथा विश्राम हुँदै आएको छ ।
एकदिनमा करिब ३५ किलोमिटर यात्रा तय गर्दै आएका उनीहरुलाई चितवनको बसाइमा महाबौद्ध गुम्बाले व्यवस्था गरेको छ । विश्व यात्रामा निस्किएका भन्तेहरुलाई ऐतिहासिक गुम्बामा स्वागत गर्न पाउँदा गुम्बा परिवार असाध्यै खुसी भएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष दलबहादुर गुरूङले बताए ।
थाइल्यान्डबाट करिब पाँच हजार किलोमिटरको यात्रामा निस्किएका भन्तेहरुलाई चितवनवासी शुभेच्छुकहरुले भरतपुरको गोन्द्राङबाट भव्य स्वागत गरेर गुम्बासम्म पैदलयात्रा सँगै गरेका थिए । ठाउँ–ठाउँमा जलपानको व्यवस्थासहित स्वागत र सम्मान गरेर बसेका बौद्धमार्गीहरुलाई आशीर्वादसमेत प्रदान गरेका थिए । यात्रामा रहेका भन्तेहरुलाई सर्वसाधारणले सामूहिकरुपमा यात्रा दानसमेत गरेका छन् ।
यात्रामा थाइल्यान्ड, भारत र नेपालका गरी करिब २५ जना भन्तेहरु सहभागी छन् । भन्तेहरु यात्रामा निस्कँदा बुद्ध धर्मबारे विश्वमा प्रचारप्रसार गर्नुका साथै जनचेतना जगाउने, तपस्या र अनुशासन सिकाउने, सरल जीवन अभ्यास गराउनेजस्ता विषयमा विशेष अर्थ राख्ने गर्दछ ।
















































