काठमाडौं / नयाँ दिल्लीस्थित शाहदरा जिल्लाको विवेक विहार क्षेत्रको चार तले आवासीय भवनमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।
शनिबार राति भएको आगलागीका क्रममा जलेर तथा धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । दमकल विभागका अनुसार आगलागीबाट १५ जनालाई सकुशल उद्धार गरिएको छ ।
- ADVERTISEMENT -

घटनास्थलमा पुगेका दमकलका १५ वटा गाडीले करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । विभिन्न तलामा भेटिए शव प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दोस्रो तलामा पाँच जना, तेस्रो तलामा एक जना तथा चौथो तलाको छत नजिक तीन जनाको शव फेला परेको छ।
चौथो तलामा रहेका केही व्यक्ति ज्यान जोगाउन छततर्फ भागे पनि छतको ढोका बन्द रहेको कारण बाहिर निस्कन नसकेपछि धुवाँमा निसास्सिएर बेहोस भएका थिए। शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले प्रारम्भिक जानकारी दिँदै आगलागीको सूचना बिहानै प्राप्त भएको र तत्काल उद्धार तथा आगो नियन्त्रण कार्य सुरु गरिएको बताए ।
उनका अनुसार घटनास्थलबाट हालसम्म ९ वटा शव बरामद भइसकेका छन् भने खोज तथा उद्धार कार्य अझै जारी छ।









































