चितवन / इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कुनै पनि समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । अध्यक्ष गुरुङले लोप हुँदै गएका तथा पुराना संस्कार–संस्कृतिको खोज, अनुसन्धान र संरक्षणमा केन्द्रित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष गुरुङले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, जिल्ला कार्यसमिति चितवनले जिल्लामा क्रियाशील तमू संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग आयोजना गरेको परिचयात्मक, बधाई तथा सम्मानमा सो बताएका हुन् ।
- ADVERTISEMENT -

नयाँ कार्यसमिति चयन भएसँगै तमू संघ–संस्थाबीच आपसी परिचय, सहकार्य र सम्बन्ध विस्तार गर्ने उद्देश्यले बिहीबार भरतपुरस्थित तीनखोले गुम्बामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा असोज २ र ३ गते कास्कीको सिक्लेसमा सम्पन्न तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय महाधिवेशनबाट निर्वाचित अध्यक्ष चित्र सोल्टी गुरुङ र सचिव दानबहादुर गुरुङलाई बधाई तथा सम्मान गरिएको थियो ।
- ADVERTISEMENT -

त्यसैगरी, तमु ह्युल छोंज धींका केन्द्रीय निवर्तमान सचिव तथा समाजसेवी सन्तलाल गुरुङलाई तमू समुदायको संरक्षण, हकहित र सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजक तुलाराम गुरुङले पत्रकारितामा निडरता र इमानदारी आवश्यक रहेको बताए । उनले सत्यतथ्यमा आधारित पत्रकारिता र जिम्मेवारीप्रतिको प्रतिबद्धताले सञ्चारकर्मीलाई सक्षम र सफल बनाउने धारणा व्यक्त गरे ।
कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष बुद्धिमान गुरुङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङ, तमु विद्यार्थी छोंज धींका रुकसन गुरुङ तथा तमु ह्युल छोंज धीं महिला समिति चितवनकी अध्यक्ष सीतादेवी गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्र सोल्टी गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए ।
संघकी उपाध्यक्ष गीता गुरुङले स्वागत मन्तव्य दिए भने सचिव करिष्मा गुरुङले कार्यक्रममा सहजीकरण गरिन् । जिल्ला अध्यक्ष हिरालाल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू समुदायका विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो ।














































