भरतपुर । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार–२०८३ को उल्लास र सांस्कृतिक रौनकलाई थप जीवन्त बनाउँदै भरतपुर महानगरपालिका–११ स्थित श्री नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयले दुईदिने बृहत् देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष एवम् देउसीभैलो मूल समारोह समितिका संयोजक कमलबहादुर मल्लले परम्परागत देउसी गीत गाएर कार्यक्रमको उद्घाटन गरेका हुन् । संयोजक मल्लले तिहारको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले नेपाली मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै विद्यालयको शैक्षिक विकासमा सहयोग जुटाउने उद्देश्यले आयोजित कार्यक्रममा करिब साढे तीन लाख रुपैयाँ संकलन भएको आर्थिक उपसमितिका संयोजक शिक्षक नवराज पौडेलले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले कार्यक्रमबाट संकलित रकम विद्यालयको शैक्षिक उन्नयन, सांस्कृतिक विकासका लागि सङ्गीत कक्षको सुधार तथा जुनियर रेडक्रस सर्कल (जुरेस) कक्षको स्तरोन्नति र सबलीकरणमा खर्च गरिने बताए ।
- ADVERTISEMENT -

विद्यालयका सहप्रधानाध्यापक कुस्माखर न्यौपानेले देउसीभैलो मनोरञ्जन र आर्थिक संकलनमा मात्र सीमित नरही नयाँ पुस्तालाई आफ्ना मौलिक चाडपर्व, लोकगीत, नाचगान र सामाजिक एकताको महŒव बुझाउने महŒवपूर्ण माध्यम भएको बताए ।
कार्यक्रममा विद्यार्थीहरूले नेपालको मौलिक जातीय भेषभूषामा सजिएर विभिन्न लोकगीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै तिहारको रौनक थपेका थिए भने नेपाली लोकसंस्कृति, भेषभूषा र परम्परागत नाचगानले टोल तथा चोकहरूलाई उत्सवमय बनाएको थियो ।
देउसीभैलो कार्यक्रममा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरूको समेत आकर्षक सहभागिता देखिएको थियो । उनीहरू नेपाली मौलिक संस्कृतिको अनुभव लिँदै देउसीभैलोमा नाचगान गर्न र सहयोग गर्न सहभागी भएका थिए । विदेशी पर्यटकको सहभागिताले नेपाली कला, संस्कृति र तिहारको मौलिकता अन्तर्राष्ट्रिय समुदायमाझ समेत आकर्षणको विषय बनेको सन्देश दिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरूले जिम्मेवारी निर्वाह गरेका थिए । ध्वनि तथा यातायात व्यवस्थापन उपसमितिको संयोजन शिक्षक वेदनाथ अधिकारी, वाद्य सामग्री व्यवस्थापन उपसमितिको संयोजन सहप्रधानाध्यापक परशुराम बस्नेत तथा स्वयंसेवक परिचालन र अनुशासन मूल्याङ्कन समितिको संयोजन शिक्षक श्रीप्रसाद खतिवडाले गरेका हुन् । शिक्षक कृष्ण सुदामा र तारादेवी बस्यालले देउसी भट्याउँदै कार्यक्रम सञ्चालन गरे ।
कार्तिक २२ र २३ गते आफ्नो सेवाक्षेत्रभित्रका विभिन्न टोल तथा चोकमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको थियो । तिहारको सांस्कृतिक उल्लाससँगै आयोजित कार्यक्रममा स्थानीय टोलवासी, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
तिहारको परम्परागत उल्लासलाई विद्यालयको शैक्षिक विकास र सामाजिक एकतासँग जोड्न सफल यस कार्यक्रमले चाडपर्वको वास्तविक महŒव मनोरञ्जनसँगै संस्कृति संरक्षण, आपसी सद्भाव र सामुदायिक सहयोगमा पनि निहित रहेको सन्देश दिएको छ ।















































