March 28, 2024

भरतपुर कारागारमा बजेट कम हुँदा औषधि अभाव

May 17, 2023

चितवन / भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला चार नाबालक÷नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् ।
कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ । यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ ।
उहाँका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि रु १२ लाखमात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष रु ४८ लाख पठाएको जनाउँदै उहाँले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।
औषधिको चरम अभाव भएपछि रु १५ लाख माग गरेकामा रु एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिनुभयो ।
कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ । दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उहाँले भन्नुभयो, “किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।”
नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उहाँले बताउनुभयो । कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । कारागार प्रमुख आचार्यले भन्नुभयो, “सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -