काठमाडौं / ब्राजिलको साओ पाउलोमा जहाज दुर्घटना भएको छ । उक्त दुर्घटनामा ६१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
चालक दलका सदस्यबाहेक ५७ यात्रु बोकेको जहाज शुक्रबार दुर्घटना भएको हो । बीबीसीका अनुसार दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हो ।
- ADVERTISEMENT -

एटीआर ७२–५०० विमानमा ५७ यात्रु तथा ४ जना चालक दलका सदस्य रहेका थिए ।
दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरका लागि उडेको थियो ।
विमान आवासीय क्षेत्रमा खसेको हो । तर, विमान खसेको आवासीय क्षेत्रमा भने अरु कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेको दुर्घटनाको भिडियोमा जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै भुइँमै खसेको देखिएको छ ।
दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले तीन दिने शोकको घोषणा गरेका छन् ।
ब्राजिल एयर फोर्स टोलीले दुर्घटनाको कारण पत्ता नलागेको र अनुसन्धान हुने जनाएको छ ।











































