भरतपुर / चितवनको खैरहनीमा आज (शुक्रबार) बिहान सबेरै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्व(पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–२, ज्यामिरे चोकमा यात्रुवाहक बस र कार एकआपसमा ठोक्किँदा कार चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, बिहान करिब १ः४५ बजे उदयपुरबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।
- ADVERTISEMENT -

दुर्घटनामा परी कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रदीप तिमिल्सिनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका तिमिल्सिनालाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएको थियो ।
तथापि, उपचारका क्रममा बिहान ३ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए ।
प्रहरीले दुर्घटनाग्रस्त बस र बसका चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको छ ।









































