चितवन / नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले पत्रपत्रिकाको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
न्यूजप्रवाह साप्ताहिकले आयोजना गरेको नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पु¥याएका पत्रपत्रिका बन्द हुन नदिन राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
- ADVERTISEMENT -

कार्यक्रमका प्रमुखअतिथिसमेत रहेका अध्यक्ष पराजुलीले मोफसलमा पत्रिका सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको अवस्थामा सरकारले सरकारी निकायबाट प्राप्त हुँदै आएको विज्ञापन निजी सञ्चारमाध्यममा रोक लगाउनु दुर्भाग्यपूर्ण रहेको र यसले निजी सञ्चारमाध्यम धराशायी हुने खतरा रहेको औँल्याए ।
निजी सञ्चारमाध्यमलाई जोगाउन सरकारले लोककल्याणकारी विज्ञापन वृद्धि गर्नुपर्ने अवस्थामा वन्चित गर्ने कार्यले सरकार प्रेसमैत्री नरहेको स्पष्ट भएको बताए । उनले भने, ‘सरकारको यस निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले विरोध जनाउँदै आएको छ । महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रममा सबै सञ्चारमाध्यम, नागरिक समाज र संघसंस्थाले ऐक्यबद्धता जनाउन आवश्यक छ ।’
सरकार आलोचना दबाउने नियतका साथ निजी सञ्चारमाध्यम धराशायी गराउने र पत्रकारहरुलाई बेरोजगार बनाउन उद्यत रहेको उनको भनाइ थियो । नेपाल पत्रकार महासंघले पत्रकारहरुको पेसागत हकहितको संरक्षण गर्न अभिभावकीय नेतृत्व लिँदै सरकारको गलत कदमविरुद्ध निरन्तर खबरदारी र असल कामको समर्थन गर्दै आएको उनले बताए ।
यस्तै, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारीले वर्तमान समयमा पत्रिका सञ्चालन गर्न कठिनाइ हुँदाहुँदै पनि आफ्नो अस्तित्वलाई जीवन्त राख्न न्यूजप्रवाह साप्ताहिकले गरेको पहल सराहनीय रहेको बताए । उनले स्थानीय तहमा सञ्चालित सञ्चारमाध्यमलाई जोगाउन सरकारले गरेको निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए ।
पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई बचाउनु स्थानीय सरकारको पनि दायित्व भएकाले सम्बन्धित पालिकाहरुले आफ्नो पालिकाबाट सञ्चालित मिडियाहरुलाई प्रोत्साहन गर्न जरूरी रहेको उनको भनाइ थियो ।
न्यूजप्रवाह साप्ताहिकका अध्यक्ष एवम् प्रधानसम्पादक बबिलाल तामाङले विगतदेखि नै नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममार्फत आफ्ना शुभेच्छुकहरुसँग छलफल र अन्तक्र्रिया गर्दै आएको बताए । मोफसलबाट सञ्चालित हुने मिडियाको पीरव्यथा राज्यको निकायमा पुगोस् भन्ने हेतुले पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सागर कुमाल, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, मञ्जुश्री म्हाणिपा आमा समूहका सचिव पासाङ तामाङलगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सञ्चारमाध्यमको स्थायित्वका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रको पनि उत्तिकै दायित्व रहेको उल्लेख गरे ।
सञ्चारमाध्यमले कुनाकाप्चामा लुकेर रहेका समुदायका आवाज पस्किने भएकाले सत्य, तथ्य र विश्वासनीय समाचारमार्फत समाजलाई सही दिशातर्फ डो¥याउन जरूरी रहेको उनीहरुको भनाइ थियो । वक्ताहरुले समाजका विकृति, विसंगति र विभाजनलाई रोक्दै असल समाज निर्माण गर्ने भूमिका निर्वाह गर्न सबै पत्रकारहरुलाई अनुरोध गरे ।
न्यूजप्रवाह साप्ताहिकका अध्यक्ष एवम् प्रधानसम्पादक बबिलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एस एण्ड पी कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठ, पत्रकारहरु केशव भट्टराई, टीकादत्त तिमिल्सिना, सुरज शर्मा, रोहिणी त्रिपाठी, राजेन्द्र कार्की, पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङ, उपाध्यक्ष सन्तोष तामाङ, सचिव प्रतिमा तामाङ, बिना तामाङलगायतको सहभागिता रहेको थियो । सो अवसरमा न्यूजप्रवाह साप्ताहिकले प्रकाशन गरेको भित्तेपात्रो (क्यालेन्डर)को विमोचन गर्दै प्रमुखअतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।








































