– बबिलाल तामाङ
चितवन । देशैभरका आदिवासी जनजाति समुदायले आज (शनिबार) ३१औँ विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदै छ ।
- ADVERTISEMENT -

आदिवासी जनजाति समुदायको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले पनि नारायणगढस्थित नारायणी कला मन्दिरमा भव्य तयारी गरिरहेको छ । कार्यक्रमको उद्घाटन राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामाले गर्ने नेफिनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।
अध्यक्ष दूराले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सम्पूर्ण आदिवासी जनजाति समुदायलाई सहभागिताका लागि आह्वान समेत गरेका छन् । कार्यक्रममा सबै जनजाति समुदायको भेषभूषा, नृत्य, कला संस्कृतिको प्रस्तुति रहने उनले बताए ।
नेपालको संविधान–२०७२ ले दिएको अधिकारसमेत प्राप्त गर्न नसकेपछि त्यसको दशक बितिसक्दासमेत आन्दोलन नै गरिरहन बाध्य भएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले जनाएको छ ।
आज हुने कार्यक्रमलाई शान्तिपूर्ण आन्दोलनको रूपमा सदुपयोग गर्न खोजिएको उनले बताए । राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई पनि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै बहस पैरवी गर्ने महत्त्वपूर्ण अवसरका रुपमा विश्व आदिवासी दिवसलाई हेर्न थालिएको उनले बताए ।
आदिवासी जनजातिले राज्य पक्षसँग आफ्ना हक अधिकार माग्दै गर्दा आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति संरक्षण गर्ने विषयमा समेत गम्भीर भएर सोच्दै आएको उनले बताए । तसर्थ आदिवासी जनजाति समुदायका हरेक कार्यक्रममा जनजाति समुदायसँग जोडिएको संस्कृति प्रस्तुत हुँदै आएको उनको भनाइ छ ।
‘आदिवासी जनजातिका भाषा, साहित्य त छँदै छन् । पहिचानको मुद्दालाई पनि बलियो ढङ्गले उठाउने छौँ’, उनले भने, ‘सङ्घीयता लागू भइसके पनि हाम्रा मागहरु जबसम्म पूरा हुँदैनन् त्यतिञ्जेलसम्म आन्दोलन जारी रहन्छ ।’ नेपालमा रहेका ५९ आदिवासी जनजाति समुदायमध्ये नेपाल आदिवासी जनजाति महासंघको सङ्घीय समितिमा ५६ जाति आबद्ध छन् ।
२०५५ सालमा स्थापना भएको चितवन जिल्लामा भने हालसम्म १६ जाति/जनजाति महासंघको सदस्यका रुपमा आबद्ध छन् ।


















































