– बबिलाल तामाङ
चितवन । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारीमा देखिएका समस्या हल गर्न सरकार प्रयत्नरत रहेको बताएकी छन् । समस्याग्रस्त सहकारीको अध्ययनका लागि विज्ञ टोली बनाएर काम गर्ने उनले बताइन् ।
बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीको अध्ययन गरी त्यस्ता सहकारीका बचतकर्ताको बचत फिर्ता गर्नेगरी काम गरिने उनको भनाइ थियो ।
- ADVERTISEMENT -

नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा लेखक वसन्त पराजुलीको नयाँ औपन्यासिक कृति ‘बखान’को गृह विमोचन कार्यक्रममा मन्त्री पौडेलले सो बताएकी हुन् । बखानसिंहले सहकारीमा दिएको योगदानको सबैले कदर गर्नुपर्ने बताउँदै लेखक पराजुलीको ‘बखान’ कृतिबाट उनको योगदानको कदर भएको उनले बताइन् ।
उनले बखानसिंह सहकारीको अपूर्ण भवनलाई पूर्णता दिन बागमती प्रदेशसँग बजेटको लागि पहल गर्ने विश्वाससमेत दिलाइन् । उनले बजेटका लागि मन्त्रालयमा प्रपोजल पेस गर्न अनुरोध गर्दै बागमती प्रदेशबाट हुन सक्ने सहयोग र परामर्शमा जोड दिइन् ।
कार्यक्रममा चन्द्रध्वज गुरूङले नेपालको इतिहासलाई बखान उपन्यासबाट औपन्यासिक रुप दिएरै भए पनि सङ्ग्रहित गर्ने काम भएको बताए । नेपाली समाज र राजनीतिमा परिवर्तनको संवाहकको रुपमा स्थापित व्यक्तिलाई राज्यले समेत वास्ता नगरेको उनको भनाइ थियो ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरूङले सहकारी आन्दोलन, चितवनको बस्ती विकास र सामाजिक योगदानमा देशले सम्झिनुपर्ने व्यक्ति भएको बताए । बखानको जीवनीमा आधारित रहेर उपन्यास लेखिँदा एउटा दस्तावेजको रुपमा यसलाई स्वीकार्न सकिने उनले बताए ।









































