भरतपुर / चितवनका युवा व्यवसायी रामप्रसाद सिग्देल (सुलभ) माथि आक्रमण भएको छ । भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका संचालक सिग्देललाई अपरिचित समूहले बिहिबार साँझ आक्रमण गरेको हो ।
सिग्देललाई घर फर्कने क्रममा सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समुहमा आएका व्यक्तिहरुले आक्रमण गरेका हुन् । सिसी टिभी फुटेजमा उनीहरु सिजी ल्याण्डमार्कको प्रवेशव्दारमा कुरेर बसेको र देख्नासाथ बाइकको हेलमेट प्रयोग गरेर आक्रमण गरेको पाइएको छ । मलका सुरक्षा गार्ड आएपछि उनीहरु भागेको सिसीटिभी फुटेजमा देखिन्छ ।
- ADVERTISEMENT -

आक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ । उनको भरतपुर अस्पतालमा आकस्मिक कक्षमा उपचार भइरहेको छ । केही साताअघि पनि उनिमाथि सिजी मलमा नै आक्रमण भएको थियो । आक्रमणमा संलग्नको खोजी गरेपनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
यसपटक आक्रमणमा संलग्नको पहिचान नजिक पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार आक्रमणमा संलग्नको खोजीका लागि सबै क्षेत्रमा प्रहरीको संयन्त्र खटिएको छ । प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख पुरीले बताए ।
























