भरतपुर / नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको डेरी उद्योगको प्रवर्द्धन, आधुनिकीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ आयोजना हुने भएको छ।
चितवन प्रदर्शनी केन्द्र, भरतपुर–१०, प्रदर्शनीमार्गमा सञ्चालन हुने उक्त एक्स्पो माघ २५ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ। एक्स्पोको आयोजना चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड को संयुक्त आयोजनामा हुन लागेको हो।
- ADVERTISEMENT -

‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित आयोजना हुन लागेको यस एक्स्पोमा डेरी उत्पादन, प्रशोधन, भण्डारण र वितरणसँग सम्बन्धित नवीनतम प्रविधि, मेसिनरी तथा उपकरणहरूको प्रदर्शन गरिने आयोजकले जनाएको छ। यसले किसान, उद्यमी तथा व्यवसायीहरूलाई उत्पादन बढाउन, लागत घटाउन र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास गरिएको छ।
एक्स्पोमार्फत डेरीजन्य उत्पादनको गुणस्तर सुधार, बजार विस्तार, औद्योगिकीकरण र निर्यात प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, डेरी उद्योगसँग सम्बन्धित उद्यमी, नीति निर्माता, सरकारी निकाय तथा सरोकारवालाबीच अन्तरक्रिया, अनुभव आदान–प्रदान र सहकार्यको वातावरण सिर्जना गर्ने लक्ष्य रहेको छ।
प्रदर्शनी अवधिमा वक्तृत्वकला प्रतियोगिता, दुग्ध क्षेत्रको अवस्था र बजार समस्याबारे कार्यपत्र प्रस्तुति, प्राविधिक गोष्ठी, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गरिनेछ। चौथो दिन दुग्ध क्षेत्रसँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगिता, उन्नत जातको गाई प्रदर्शन तथा उत्कृष्ट दुग्ध उत्पादक सहकारी सम्मान कार्यक्रम समेत समावेश गरिएको छ। साथै, डेरी फुड फेस्टिभल पनि आयोजना गरिनेछ।
आयोजकका अनुसार उक्त अन्तर्राष्ट्रिय डेरी एक्स्पोमा प्रवेश निःशुल्क रहनेछ। वास्तविक डेरी उद्योगी, उद्यमी बन्न इच्छुक व्यक्ति, नीति निर्माता, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूलाई प्रदर्शनी अवलोकनका लागि आमन्त्रण गरिएको छ।


















































