काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ का मंगलबार राती बुधबार बिहान सम्पन्न खेलहरूमा नर्वे र फ्रान्स विजयी हुँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।
नर्वेले आइभोरी कोस्टलाई २–१ ले र फ्रान्सले स्विडेनलाई ३–० ले हराउँदै उपाधि दाबेदारीलाई थप बलियो बनाएको हो ।
- ADVERTISEMENT -

अमेरिकाको डालासमा भएको खेलमा नर्वेलाई जित दिलाउन एन्टोनियो नुसाले ३९औँ मिनेटमा पहिलो गोल गरे भने स्टार स्ट्राइकर इर्लिङ हालान्डले ८६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
आइभोरी कोस्टका लागि अमाद डियालोले ७४औँ मिनेटमा बराबरी गोल फर्काए पनि त्यसले टोलीलाई हारबाट जोगाउन सकेन। यस जितसँगै नर्वेले क्वाटरफाइनल प्रवेशका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ।
- ADVERTISEMENT -

यता, न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि ३–० को प्रभावशाली जित निकाल्यो। फ्रान्सका कप्तान केयलियन एमबापेले ४३औँ र ७६औँ मिनेटमा दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले।
अर्को गोल ब्राडली बारकोलाले ५३औँ मिनेटमा गरेका थिए। एमबापेको यस विश्वकपमा गोल संख्या ६ पुगेको छ। उनी अर्जेन्टिनाका लियोनेल मेसीसँग संयुक्त रूपमा प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका छन्।
फ्रान्सले अब क्वाटरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।














































