April 22, 2025

प्राकृतिक चिकित्सालयबाट भए ५० जना कोरोनासंक्रमण मुक्त

September 22, 2020
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर–१ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरु सङ्क्रमण मुक्त भएका हुन् ।
गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत छन् । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिइ उपचार गराइएको उहाँले जानकारी दिनुभयो ।
बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ । बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ । महानगरमा रहेका सङ्क्रमितलाई यहाँ राखेर उपचार गरिएको छ । अन्य ३ सय ४ जना होम आइसोलेशन र २० जना वडाले निर्माण गरेको क्वारेन्टिनमा छन् । महानगरमा हालसम्म १ हजार १ जना सङ्क्रमित भइसकेका छन् ।
यो संख्या जिल्लामा १ हजार ५ सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । ती मध्ये १० जना भरतपुर महानगरपालिकाका रहेका छन् । पूर्वी चितवनमा चार वटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरक फरक ठाउँमा आइसोलेशन तयार गरेका छन् ।
लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेशन र घरमै राखिएको छ । (रासस)

- ADVERTISEMENT -