July 25, 2024
- ADVERTISEMENT -

कांग्रेसको आज सरकारविरुद्ध देशभर शक्ति प्रदर्शन

December 14, 2020
(File Photo)

काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्ने भएको छ । मास्क र भौतिक दूरी अनिवार्य कायम गर्दै कांग्रेसले सोमबार ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो ।
कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा विरोध प्रदर्शन गर्न लागेको हो ।
विभिन्न जिम्मेवारीसहित देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाइएको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरीको कार्यक्रममा सहभागी हुनेछन् भने गगन थापाले कैलालीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

- ADVERTISEMENT -