April 22, 2025

‘प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ’ – विवेकशील साझा पार्टी

February 24, 2021
- ADVERTISEMENT -

काठमाडौँ / विवेकशील साझा पार्टीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको स्वागत गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै साझाका प्रवक्ता शरदराज पाठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् ।
उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको र अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टी हार्दिकतापूर्वक स्वागत गर्दछ।’
विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित अदालतको उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको छ। अधिनायकवादी शैलीमा मुलुक हाँक्ने कुत्सित मनोकांक्षाको अवसान भएको छ।’ यस्तै, साझाले अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने साझाको माग छ । अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई साझाले आह्वानसमेत गरेको छ ।

- ADVERTISEMENT -