September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोनाका कारण चितवनका ईट्टा उद्योगहरु बिस्थापित

March 12, 2021
Photo : google

चितवन / कोरोनाको असर सबै क्षेत्रमा परिरहेको बेला यसको गहिरो असर चितवनका ईट्टा उद्योगमा परेको छ । गतबर्षबाट बन्द भएका उद्योग हालसम्मपनि सञ्चालन आउन सकेका छैनन । कोरोनाका कारण भारत लगायत सीमाक्षेत्रका मजदुर ,कामदार नआएपछि उद्योगीहरुले ठूलो क्षति बेहोर्नु परेको हो । ठूलो रोजगारी सिर्जना गर्ने यो क्षेत्र बन्द हुंँदा अधिकांश उद्योगी विस्थापित भएका छन । चितवन ईट्टा उद्योग संघका अनुसार जिल्लामा सञ्चालित १८ वटा उद्योग मध्ये दुईवटा मात्र सञ्चालनमा छ ।
मजदुर र कामदारमा निर्भर रहने उद्योग मजदुरको अभाव हुंँदा सबैजसो उद्योगले गतबर्षबाटनै उत्पादन बन्द भएको संघका अध्यक्ष नारायण सापकोटाले बताए । ‘सबै मजदुर कामदार भारताबाट ल्याउनुपर्ने हुन्छ , उनले भने , उनीहरु गतबर्षबाटनै फर्किन सकेनन ।’ मजदुर कामदार नफर्किदा १६ वटा उद्योग बन्द भएको र यी मध्ये ७ वटा उद्योगी यस क्षेत्रबाट विस्थापित भईसकेको उनले जानकारी दिए । उनका अनुसार मजदुरको अभाव, बैंकको ऋण, जग्गाको भाडाका कारण अन्य उद्योगी समेत विस्थापित हुने क्रममा रहेको छ ।
स्वदेशकै कच्चापदार्थ प्रयोग हुने र निर्माण सामाग्रीको प्रमुख सामाग्री मध्ये पर्ने ईट्टा राज्यको ध्यान नपुग्दा उद्योग बन्द हुनुपरेको र आफूहरु विस्थापित हुन नपुगेको उद्यो्गी हरु बताउंँछन । जिल्लामा हाल २ वटामात्र उद्योग सञ्चालनमा छन । राप्ती नगरपालिका वडा नम्बर ९ मा सञ्चालित मनकामना इट्टा उद्योगका सञ्चालक पुष्प पिया कोरोनका कारण उद्योग निल्नु न ओकेल्नु अवस्थामा रहेको बताउंँछन । ‘साथीहरुले पोहोरबाटनै बन्द गरिसक्नु भयो मेरो पनि कहिले बन्द हुने ठेगाना छैन ।’ उनले भने ।

विगतका बर्षहरुमा भन्दा यसबर्ष मजदुर अभावमा न्यून क्षमतामा उद्योग चलाउनु परेको पियाको गुनासो छ । सबै कामदार भारतको भरपर्नु परेकाले उद्योगहरु बन्द गर्नुपरेको उनले बताए । प्रशस्त रोजगारी तथा निर्माण सामाग्री उत्पादन गर्ने यो क्षेत्रले कामदार अभाव मात्रै होइन अन्य प्राकृतिक विपत्तीबाट पनि क्षति बेहोर्दै आएको छ ।
खैरहनी नगरपालिका वडा नम्बर ४ स्थित संगम ब्रीक्स प्रालिका सञ्चालक दिपक ढकाल राज्यको ध्यान ईट्टा उद्योगमा नपुग्दा उद्योगीहरु विस्थापित हुन पुगेको र मुश्किलले चलेका उद्योगपनि सदाको लागि बन्द गर्नुपर्ने अवस्था आएको बताउंँछन । सरकारबाट हामी उद्योगी उपेक्षित छौं, काम गर्छुभन्दा पनि गर्ने वातावरण छैन । उनले भने, बर्षेनी कुनैन कुनै क्षति बेहोर्दै आएका हामी कोभिडका कारण उठ्नै नसक्ने गरी थला पर्यौं ।
असिना पानीका कारण लाखौ ईट्टामा क्षति
बुधबार सांँझ चितवनमा एक्कासी आएको हावाहुरी,असिना पानीका कारण सुकाउन राखिएका लाखौ ईट्टामा क्षति हुन पुगेको छ । सञ्चालनमा आएका दुईवटा उद्योगका ईट्टामा पूर्णरुपमा क्षति भएका छन । मनकामना ईट्टा उद्योगका सञ्चालक पियाले असिना पानीका कारण उनको उद्योगमा १२ लाख बराबरको कांँचो ईट्टा नोक्सान भएको बताए । ‘भर्खर सुकाईएका ईट्टामा असिना पानीले कामनै नलाग्ने गरी नोक्सान भयो, नत यसलाई अब पुनः प्रयोगमानै ल्याउन सक्छौं ।’ उनले भने ।
असिना पानीका कारण कांँचो ईट्टा सुरक्षित तरीकाले थन्काउन नसकिने र पोल्न हालिएका ईट्टाहरुमा पानीले गर्दा आगो निभ्नसक्ने जोखिम हुने उनले बताए । ईट्टा बनाउने उत्तम समयमा एक्कासी आएको असिना पानीका कारण जमीन चिसो हुने भएकोले ईट्टा निमार्णको काम समेत ठप्प भएको छ । खैरहनीमा रहेका संगम ब्रीक्स उद्योगमा समेत असिना पानीका कारण क्षति पुगेको छ ।
उद्योग परिषरमा सुकाउनले लागिएका ३ लाख वटा पूर्ण क्षति पुगेको सञ्चालक ढकाल बताउंँछन । कोभिडले लामो समय बन्द भएको उद्योग कम क्षमतामा सञ्चालनमा ल्याईएपनि पानीका कारण यस बर्ष इट्टा उत्पादन गर्न नसकिने ढकालले बताए । ‘अब गर्मीको सिजन पनि शुरु भयो , कतिखेर पानी पर्छ थाहा हुँदैन । उनले भने,भएका कामदारपनि घर जान्छन ।थप जोखिम लिएर कसरी काम गर्ने ? ।’ ईट्टाको बीमा गरिएपनि बीमाबाट क्षतिपुर्ती न्यून मात्रमा मिल्ने भएकोले यस उद्योगमा लगानी गर्न उद्योगीहरु आकर्षित नहुने उनको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement